काठमाडौं- नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत गर्ने दोस्रो दिनको प्रयास पनि असफल भएको छ। यसअघि बुधबार पनि नेतृत्व सर्वसम्मत रूपमा चयन गराउने प्रयास भएको थियो।
बिहीबार समेत नेताहरूले बिहानैदेखि छलफल गरेका थिए। तर, आकांक्षीहरू पछि नहटेपछि अन्तत: निर्वाचन नै हुने भएको हो।
२३औं महाधिवेशन अध्यक्ष मण्डलकी सदस्य रचनाका खड्काका अनुसार अहिले दिउँसो ३ बजेदेखि मतदान गर्नेगरि तयारी अघि बढाइएको छ। अखिलको नेतृत्वका लागि विद्युतिय मतदान हुनेछ। ‘चुनाव हुने निश्चित भयो। आधा घण्टामा चुनाव गर्नेगरी तयारी अघि बढाएका छौं’, खड्काले भनिन्। अखिलमा सात वर्षपछि निर्वाचनमार्फत नेतृत्व चुनिन लागेको हो।
निर्वाचन कमिटीका अनुसार १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका छन्। एक अध्यक्षका लागि पाँच र एक महासचिवका लागि पनि पाँच जनाकै उम्मेदवारी परेको छ। अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला र वाङछु योञ्जनले उम्मेदवारी दर्ता गराएका छन्।
महासचिवका लागि उमेश आचार्य, कल्पना वाइवा, नरेश रोकाय, भाष्कर खनाल र सुदर्शन शिवाकोटीको उम्मेदवारी परेको छन्।
चारजना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा छन्। निवर्तमान उपाध्यक्ष झपिन्द्र खत्री, निवर्तमान कोषाध्यक्ष जेनिश लामा, निवर्तमान उपमहासचिवहरू नारायण घर्ती, गोविन्द गिरी, सचिव धर्म गिरीसहित १६ जनाले उम्मेदवारी दिएका छन्।
यस्तै, १० जना सचिवका लागि ६१ जनाको उम्मेदवारी परेको छ। कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्यालको उम्मेदवारी छ। उम्मेदवारहरूको अन्तिम नामावली यसअघि सार्वजनिक भइसकेको छ। अखिलको महाधिवेशन मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।