काठमाडौं– फागुन १, मोवादीले ‘जनयुद्ध’ सुरु गरेको दिन। माओवादी घटकले हरेक वर्ष फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने गर्छन्। तर, यसपटक ‘जनयुद्ध दिवस’को अवसर पारेर सरकारले सार्वजनिक बिदा दिएपछि द्वन्द्वपीडितहरु विरोधमा उत्रिएका छन्।
माओवादी युद्धको सुरुआतकर्तामध्येका एक, पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री छन्। उनले गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्। उनै प्रचण्डको जोडबलमा सार्वजनिक बिदा दिइएपछि सत्ता गठबन्धनभित्र समेत असन्तुष्टि देखिएको छ। अनि, द्वन्द्वपीडितहरू विरोधमा उत्रिए।
विरोधमा उत्रिएका द्वन्द्वपीडित परिवारले प्रधानमान्त्री प्रचण्डले जनयुद्ध दिवसलाई बिदाको रुपमा उत्सव मनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरे।
‘२०५२ सालमा आजकै दिनबाट भएको युद्धमा १७ हजार जनाको हत्या गरियो। ३१ सय मान्छे वेपत्ता छन्। यो दिनबाट सुरु भएको युद्धमा नेपाली जन र धनको ठूलो क्षति भएका कारण हामीले यस दिनलाई कालो दिनका रुपमा सम्झन्छौं। यस दिनमा सार्वजनिक बिदा दिइएकोप्रति हामी घोर विरोध गर्छौं,’ धर्नामा उपस्थित शंकर बुढाथोकीले भने ‘१७ हजार मारिएका मान्छेको लेखाजोखा छैन। पाँच हजारको जिम्मा लिन्छु भन्ने व्यक्ति प्रधानमन्त्री। अनि, यसरी मान्छे मारेको दिनलाई सार्वजनिक बिदा दिन मिल्छ?’
द्वन्द्वपीडित सुरक्षा संगठनकी वरिष्ठ उपाध्यक्ष रीता कार्कीले प्रचण्डले जनयुद्ध दिवसलाई सार्वजनिक बिदा दिएर उत्सव मनाएकोप्रति आफ्नो संगठनले बिरोध जनाएको बताइन्। साथै, द्वन्दपीडितले न्याय नपाएको भन्दै गुनासो व्यक्त गरिन्।
‘द्वन्द्वपीडित जनताले यत्रो २२–२३ वर्षदेखि न्याय पाउन सकेको छैन। के हेरेर बसेको छ सरकार? गरिब दुःखीका लागि कानुन बनेन्? खै कानुन्?’ उनको प्रश्न छ।
तनहुँकी राधा भट्टराईले आफू आफ्नो श्रीमानको लागि न्याय माग्न काठमाडौं आएको बताइन्। तर, जनयुद्ध दिवसका दिन प्रधानमन्त्रीले सार्वजनिक बिदा दिएकाले आफूलाई दुःख लागेको बताइन्।
‘आज मैले मेरो श्रीमान बितेको दिन सम्झिन्छु। मेरो लागि अर्थात् जनयुद्धमा आफन्त गुमाउनेका लागि कालो दिन हो। तर, प्रचण्डले त उत्सवको दिनका रुपमा मनाउन खोजे। मजस्ता थुप्रै नेपाली महिलाको सिन्दुर पुछिएको दिन, छोराछोरी टुहुरा भएको दिन,’ उनले भनिन्।
उनका अनुसकार श्रीमान सरकारी सेवाका कर्मचारी थिए। २०५७ साल माघ ६ गते आफ्ना श्रीमानलाई माओवादीले हत्या गरेको उनको भनाइ छ।
कैलालीकी सत्य खड्का आफ्ना श्रीमान जनयुद्धमा मारिएपछि न्यायका लागि लडिरहेको बताउँछिन्। २०५८ साल फागुन ४ गते उनका श्रीमान भिडन्तमा मारिएका थिए। उनको विवाह भएको ३ महिना मात्र हुँदै थियो। श्रीमान नेपाल आर्मीमा जागिरे थिए। २२ वर्षसम्म न्याय नपाउँदा उनी प्रधानमन्त्री प्रचण्डप्रति आक्रोशित सुनिइन्।
‘मंसिर २८ गते विवाह भएको थियो। फागुनको ४ गते उहाँ भिडन्तमा मारिनु भयो। मैले मेरो श्रीमानलाई राम्रोसँग पनि नदेखिकन सिन्दुर पुछिएको छ। म श्रीमानको न्यायका लागि कहाँकहाँ पुगिनँ? तर, मैले आजसम्म न्याय पाउन सकिनँ’ उनले भनिन्।
कैलालीको टीकापुरकी धनकला टमाटा पनि आफ्ना श्रीमान २०५७ सालमा रुकुमको भिडन्तमा मारिएको बताउँछिन्। ‘म २३ वर्षकी थिएँ। मेरा साना छोराछोरी थिए। मैले छोराछोरी हुर्काउन कति संघर्ष गर्नु परेको छ। हामी पीडित परिवारलाई न्याय दिनु पर्दैन? सार्वजनिक बिदा दिएर हाम्रो पीडा कम हुन्छ?’, उनले भनिन्, ‘यो कस्तो कानुन हो? गरिबलाई लाग्ने तर, सामन्ती शोषक नेतालाई नलाग्ने?’
रामेछापकी फम्फा बुढाथोकी रामेछापकै गेलु गाविसमा नेपाली कांग्रेसकी महिला सदस्य थिइन्। २०५८ साल जेठ २२ गते माओवादीले उनलाई आमसभाबाट लछारपछार गरेर शारीरिक यातना दिँदै वडाध्यक्षको घर लगेको दिन सम्झिन्छिन्।
‘१३ जना थिए कुटपिट गर्ने। गाउँकै मान्छे सत्रु लागे। रातभरि कुटपिट, लछारपछार के के गरे गरे। त्यसपछि बिहान १९ हजार रुपैयाँ दिएपछि छाडिदिए। त्यत्रो कुटपिट गरेर उल्टै पैसा मागेर गए। शरीरभरी चोट लागेको थियो। त्यसको उपचार गर्दा लागेको खर्च कसले ब्यहोर्ने?’, उनको प्रश्न छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।