काठमाडौं– भारतमा भएको एक दिवसीय क्रिकेट सिरिजमा भारतले न्यूजिल्याण्डमाथि तीनवटै खेलमा जित निकालेको छ। मंगलबार भएको तेस्रो तथा अन्तिम खेलमा भारतले पाउना टोली न्यूजिल्याण्डलाई ९० रनले पराजित गरेको हो। 
सिरिजअन्तर्गत तीनै खेल जितेको भारत आईसीसी एक दिवसीय वरीयतामा शीर्ष स्थानमा उक्लिएको छ। जितका लागि ३ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्यान्ड ४१ ओभर २ बलमा २ सय ९५ रनमा अल आउट भयो।
न्यूजिल्यान्डका डेभन कन्वेले १ सय ३८ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। भारतका शार्दुल ठाकुर र कुलदीप यादवले तीन/तीन विकेट लिए। त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८५ रन बनाएको थियो।
भारतका शुभमन गिलले १ सय १२ रन जोडे। कप्तान रोहित शर्मा १ सय १ रनमा आउट भए। न्यूजिल्यान्डका ज्याकुफ डफी र ब्लेयर टिकनरले तीन/तीन विकेट लिए। भारत पहिलो खेलमा १२ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो। भारत र न्यूजिल्यान्डबीच अब तीन खेलको टी–२० शृङ्खला हुनेछ।
पहिलो खेल शुक्रबार, दोस्रो खेल आइतबार र तेस्रो तथा अन्तिम टी–२० खेल बुधवार हुनेछ। मंगलबारको खेलमा भारतीय टोलीका ब्याट्सम्यान विराट कोहली थिइनन्। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।