काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकिएको मापदण्ड पूरा नगरेको भन्दै ६ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै उनीहरुमाथि कारबाही गरिएको उल्लेख गरेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको मापदण्ड पूरा नगरेका १० बैंक तथा वित्तीय कम्पनीलाई नियामक राष्ट्र बैंकले कारबाही गरेको हो।
यसरी कारबाहीमा पर्नेमा सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बेंक, नारायणी डेभलपमेन्ट र सप्तकोशी डेभलपमेन्ट बैंक छन्। उनीहरुलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा कारबाहीस्वरुप जरिवाना गरिएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ।
त्यस्तै सालपा विकास बैंक र कर्णाली विकास बैंकलाई अनिवार्य मौज्दात अनुपात कायम नगर्दा कारबाहीस्वरुप जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ। विपन्न वर्गको कर्जा शीर्षकमा पनि मापदण्ड पूरा नगरेपछि कर्णाली विकास बैंक थप जरिवानामा परेको छ।
त्यसैगरी नेपाल जानकी र समृद्धिजस्ता फाइनान्स कम्पनीहरुलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा जरिवाना गराइएको छ। प्रोग्रेसिभ फाइनान्सलाई भने अनिवार्य मौज्दात अनुपात कायम नगर्दा जरिवाना गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।