काठमाडौं– विस्तार तथा मन्त्रीहरुको जिम्मेवारी विभाजनपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्रीहरुलाई आ–आफ्नो मन्त्रालयको कार्ययोजना बनाउन ७ दिनको समय दिने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयको कार्ययोजना बनाउने र त्यसका लागि ७ दिनको समय दिने निर्णय गरेको हो।
सरकारको न्यूनतम साझा कार्यक्रममा आधारित भएर सबै मन्त्रालयहरुलाई कार्ययोजना निर्माणका लागि ७ दिनको समय दिने निर्णय भएको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
सबै मन्त्रालयहरुले कार्ययोजना बनाउने र मन्त्रिपरिषद्मा पेस गरेपछि त्यसकै आधारमा सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएका विषयको कार्यान्वयनलाई अगाडि बढाइने पौडेलले उल्लेख गरे।
मन्त्रिपरिषद्को बुधबारको बैठकले सरकारका २ जना विशिष्ठ श्रेणीका अधिकृत (सचिव)हरुको जिम्मेवारी पनि हेरफेर गरेको छ।
उर्जा सचिव केशव शर्मालाई भौतिक पुर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ। भौतिक पुर्वाधारका सचिव गोपाल सिग्देललाई उर्जा म्रन्त्रालयमा सरुवा गर्ने निर्णय भएको पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।