काठमाडौं– प्रतिनिधि सभाको सभामुखका लागि नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेले आफू विजयी हुनेमा विश्वस्त रहेको बताएकी छन्। आफ्नो जितको आधार प्रतिनिधि सभाका सदस्य (सांसद)हरु रहेको उनको भनाइ छ।
बुधबार संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै न्यौपानेले सभामुखमा आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताइन्।
‘संसदलाई सभामुखको आवश्यक्ता पर्दछ। त्यो सभामुख निर्वाचनमार्फत् हुन्छ। त्यही प्रक्रियाअनुसार मैले उम्मेदवारी दिएकी हुँ,’ न्यौपानेले भनिन्, ‘निर्वाचनमा हारजित हुन्छ। निर्वाचनमा लड्दै गर्दा म हार्छु भनेर कोही पनि जाँदैन। म यो निर्वाचनमा पक्कै जित्छु। मेरो जित्ने आधार सांसदको मत हो।’
निर्वाचन अघिसम्म आफू नेपाली कांग्रेसको नेता भए पनि सभामुख बनेपछि सबैको सभामुखको रुपमा काम गर्ने न्यौपानेको भनाइ छ। सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रुपमा रहेर सांसद र संसद्प्रति न्याय गर्ने न्यौपानेले उल्लेख गरिन्।
‘निर्वाचनअघि म नेपाली कांग्रेसको नेता हो। सभामुखमा निर्वाचित भइसकेपछि म सबैको सभामुख हो। मैले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रुपमा रहेर सांसद र संसद्प्रति न्याय गरेर सकेसम्म राम्रोसँग संसद् चलाउँछु,’ न्यौपानेले भनिन्।
उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वाला रहेका छन्। न्यौपानेलाई माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको समर्थन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।