काठमाडौं– काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध रुपमा डकैती गर्दै आएका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको तिमाल गाउँपालिका–५ घर भएका ३२ वर्षीय रोमन भनिने मनराज तामाङ छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेस्थित उनको घरबाट पक्राउ गरेको हो।
पछिल्लो समय उनी ७७ लाख रुपैयाँभन्दा बढी डकैती गरेर फरार रहेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले बताए। पक्राउ परेका उनलाई प्रहरी वृत्त बौद्धमा राखेर अनुसन्धान अघि बढाइएको छ।
उनले गत असार ६ गते काठमाडौं शंखरापुरको खुलालटारस्थित लालबहादुर थापाको घरमा डकैती गरेका थिए। अपरिचत व्यक्तिको समूह घरभित्र प्रवेश गरी हातहतियार देखाउँदै सुनचाँदीको गरगहना तथा मोबाइल गरी अन्दाजी २ लाख ४१ हजार रुपैयाँ बराबरको समान लुटपाट भएको थियो।
त्योभन्दा ६ दिन पछि असार १२ गते मनराजकै समूहले शंखरापुरकै सुशीला थापाको घरमा डकैती गरेको थियो। धारिलो हतियार देखाई नगद तथा गरगहना गरी ६ लाख ५ हजार ७५० रुपैयाँ बराबरको धनामाल लुटिएको थियो। त्यसको ८ दिनपछि असार २० गते मनराजकै योजनामा काभ्रेको बनेपा–११ स्थित सलाम सिंह लामाको घरमा लुटपाट भएको थियो। त्यतिबेला १२ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल लुटिएको थियो।
एक महिनापछि साउन २४ गते कीर्तिपुरस्थित नारायण बस्नेतको घरमा पनि यो समूहले लुटपाट गरेको थियो। त्यतिबेला बेला हिरा र सुनका गरगहना गरी ५६ लाख ६५ हजार १२४ रुपैयाँ बराबरको धनमाल लुटिएको थियो।
यी सबै घटनामा उनीविरुद्ध डाँका तथा संगठित अपराधको कसूरमा अनुसन्धान भइरहेको थियो।
यसभन्दा अघि पनि मनराज डकैतीमा संलग्न रहेको पाइएको छ। २०६८ सालमा उनले डकैती गर्ने क्रममा व्यक्ति हत्या समेत गरेको पाइएको एसपी कोइरालाले बताए।
२०६८ कात्तिक २२ गते ललितपुरको झरुवाबासीमा मनराजसहित दिलबहादुर स्याङ्तान, दीपक भनिने आकाश तामाङ, सागर भनिने खड्गबहादुर तामाङ र ज्ञान दोङले डाँका गर्ने क्रममा २४ वर्षीय श्रवण खड्काको हत्या समेत गरेका थिए। डाँका गर्न जाने क्रममा मोटरसाइकल रोकी उनीहरुले श्रवणको हत्या गरेका थिए। उनीहरुले प्रहार गरेको गोली लागेर श्रवणको मृत्यु भएको थियो।
उक्त घटनामा उनी १० वर्ष कैद भुक्तान गरेर भर्खरै छुटेका थिए। जेलबाट निस्केपछि फेरि उनले पुरानै धन्दा चलाएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।