काठमाडौं– नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बजेटको दुरुपयोग हुन नदिन मातहतका सबै निकायलाई कडा निर्देशन दिएकी छन्।
मन्त्री साहले आफू मातहतका सबै निकायको अनुगमन गरी खराब काम गर्ने कर्मचारीलाई दण्ड दिने र राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहित गरेर अघि बढ्ने आफ्नो कार्य योजना रहेको बताइन्।
कृषि विभागले बुधबार प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसर पारेर ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले रामो काम गर्ने कर्मचारीलाई मनोबल नघट्ने गरी काम गर्ने वातावरण बनाउने आफ्नो दायित्व रहेको पनि पटक–पटक दोहोर्याइन्।
कृषि मन्त्रालयका कर्मचारीले किसानको समस्या बुझेको हुनुपर्ने उल्लेख गर्दै उनले ती समस्या समाधानका लागि मिहिनेतका साथ काम गर्नुपर्ने बताइन्।
मन्त्री साहले किसानहरुको समस्या समाधानका लागि आफू केन्द्रित भएर लागिपर्ने समेत बताइन्। उनले कृषि उपजमा मुलुकलाई आत्मनिर्भर हुने गरी अघि बढ्न जरुरी रहेको धारणा राखिन्। कृषि क्षेत्रको विकासका लागि नयाँ–नयाँ कामको सुरुआत गर्ने मन्त्री साहको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।