काठमाडौं– नेपाली कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ। अहिले न्यौपानेको उम्मेदवारी दर्ताको तयारी चलिरहेको कांग्रेस सांसद मोहन बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवासहित सांसदहरूकाबीचमा भएको छलफलपछि न्यौपानेलाई उम्मेदवार बनाउने तय भएको छ।
यसअघि बुधबार बिहान सभापति देउवाले आफ्नो निवासमा पदाधिकारी बैठक गरेर सभामुख निर्वाचनबारे छलफल गरेका थिए।
पदाधिकारी बैठकअघि देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए। बुधबारै बिहान देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोनमा समेत सभामुख निर्वाचनबारे छलफल भएको थियो।
कांग्रेसले सभामुख उम्मेदवार बनाउन लागेकी न्यौपाने कैलालीकी हुन्। २०७४ को निर्वाचनमा उनी रेशम चौधरीसँग पराजित भएका थिइन्। यो पटक उनी दाङबाट सिफारिस भएर समानुपातिकतर्फको सांसद भएकी छन्।
सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराइसकेका छन्। बिहीबार प्रतिनिधि सभामा सभामुखका लागि मतदान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।