काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सुङले शिष्टाचार भेट गरेका छन्। चीनको २२औं राजदूतका रुपमा नेपाल आएका सुङले बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटघाट गरेका हुन्।
भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि घनिष्ठ रहेको उल्लेख गर्दै पछिल्लो समय थप प्रगाढ, सुमधुर र रचनात्मक बन्दै गएकोमा खुशी लागेको बताए।
‘दुई मुलुकले हाम्रो लामो इतिहास बोकेको मित्रवत सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्त्व दिएका छन्,’ उनले भने, ‘नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको छ। हामी हाम्रो भू–भागमा चीनका गहन चासोका विषयहरु तथा मामिलाका विरुद्धमा कुनै पनि गतिविधि हुन नदिन कटिबद्ध छौं।’
अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र चीनले हासिल गरेको निरन्तरको प्रगतिप्रति नेपालले प्रशंसा व्यक्त गर्दै आएको उल्लेख गरे। उनले चीन र नेपालबीच भएका उच्चस्तरीय भ्रमण र अन्य अवसरहरुमा भएका बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई), पारवहान लगायत सम्झौता कार्यन्वयन हुने विश्वास व्यक्त गरे।
कोरोना महामारी र बाढी पहिरोका कारण अवरुद्ध भएको नेपाल र चीनको दोहोरो व्यापार सञ्चालन हुँदा केही सहज भएको अध्यक्ष तिमिल्सिनाले बताए।
त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्त्वपूर्ण योगदान पुर्याउनेमा अध्यक्ष तिमिल्सिनाले विश्वास व्यक्त गरे।
‘नेपाल-चीनबीचको व्यापारलाई सन्तुलन गर्न चीन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूको कार्यान्वयनमा तीव्रता दिन र महामारी पश्चातको पुनःनिर्माणमा थप विकास सहायता उपलब्ध गराउनेतर्फ प्राथमिकता साथ दुवै देशले मिलेर अगाडि बढ्नु आवश्यक छ,’ उनले भने, ‘यसका लागि महामहिमले महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास लिएको छु।’
भेटका अवसरमा राजदूत सुङले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक रुपमा लामो समयदेखि सुमधुर तथा कूटनीतिक रुपमा पनि सबै राजनीतिक परिस्थितिमा समान रहेकोमा खुशी व्यक्त गरे। उनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय राजनीतिक भ्रमण, रणनीतिक सञ्जाल निर्माण गर्ने र विभिन्न समयमा भएका बेल्ट एण्ड रोड इनिसियटिभ लगायतका सम्झौताको कार्यन्वयनमा जोड दिनुपर्ने दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।