वीरगञ्ज– स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँसहित पर्सा प्रहरीले वीरगञ्जबाट २ जनालाई पक्राउ गरेको छ। भारतीय नम्बर प्लेटको स्कुटरमा सवार उनीहरुलाई शंकाको आधारमा चेकजाँच गर्दा प्रहरीले ठूलो परिमाणमा नगद फेला पारेको थियो।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ३४ वर्षीय बिकाश साह र वीरगञ्ज–१८ ईनर्वा मनियारी बस्ने १९ वर्षीय सुवास कुमार साह छन्।
मंगलबार दिउँसो वीरगञ्जको घण्टाघर क्षेत्रमा भारतीय नम्बर प्लेट बीआर–०५–एई ९३४३ को स्कुटरमा सवार उनीहरुलाई प्रहरीले शंकाको आधारमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उनीहरुले बोकेको झोलामा नगद नेपाली रुपैयाँ १ हजार तथा ५०० दरको नोटसहित कूल २२ लाख ५० हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक गिरीले जानकारी दिए।
उनीहरुले आफूसँग भएको रकमको स्रोत खुलाउन नसक्दा पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको डीएसपी गिरीले जानकारी दिए। प्रारम्भिक अनुसन्धानबाट उनीहरु विनिमय अपचलन (अवैध हुण्डी) कारोबार भएको खुलेको गिरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।