कांग्रेस प्रवक्ता महत (फाइल तस्बिर)
काठमाडौं– सभामुखमा उम्मेदवारीको विषयलाई लिएर नेपाली कांग्रेस अझै अन्यौलमा देखिएको छ। उम्मेदवारी दिने दिन बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सो विषयमा सघन छलफल भएको भए पनि उम्मेदवारीबारे ठोस निर्णय भने गर्न सकेन।
‘अन्य सहयोगी दलसँग पनि छलफल गर्छौँ। उम्मेदवारी दर्ता समयभित्र हाम्रो उम्मेदवारीको विषयमा टुंगो लगाउँछौँ,’ बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने, ‘त्यतिञ्जेल अन्य दलको निष्कर्ष पनि आइसक्छ। हामीले अन्य दलको पनि सहयोग लिएर उम्मेदवारी दर्ताको विषयमा टुंगो लगाउने निष्कर्ष निकालेका छौँ। त्यतिञ्जेलका लागि हामी पर्खिरहेका छौँ।’
उम्मेदवारी दिने व्यक्तिको विषय ठूलो नभएको उनको भनाइ छ। ‘आन्तरिक कुरा भइसकेको छ। समय आएपछि आधिकारिता पाउँछ। अहिलेलाई कुनकुन दलबाट सहयोग लिन सकिन्छ। अन्य दलको पनि समर्थन र सहयोगमा टुंगो लगाउनुपर्ने भएकाले एकदुई घण्टाको समय उपयोग गर्छौँ,’ उनले भने।
उनले आफूहरुले जसपा, नेकपा एकीकृत समाजवादी लगायतका दलसँग कुराकानी गरिरहेको बताए। ती दलले अन्तिम कुरा गर्न केही समय मागेकाले आफूहरुले पर्खिएको उनले बताए।
‘समझदारीबाट अगाडि बढ्दा हामी एक किसिमले प्रस्तुत हुन्छौँ। समझदारी नहुँदा अर्को किसिमबाट प्रस्तुत हुन्छौँ,’ उनले भने।
महतले राष्ट्रपति र सभामुखमा समझदारीबाटै एउटा निष्कर्ष निस्कियोस् भन्ने आफूहरुले चाहेको बताए। ‘राष्ट्रपति र सभामुखको संस्था एउटा साझा र सबैको दृष्टिकोणलाई मध्यनजर राखेर निष्पक्ष ढंगबाट कार्यसम्पादन गर्ने, संविधानको रक्षा, कानुनको रक्षामा केन्द्रित हुनुपर्छ भन्ने पद भएको हुनाले समझदारीमा निष्कर्ष निस्कियोस् भन्ने हामीले चाहेको हो। प्रधानमन्त्रीले केही समय अझ त्यसबारेमा अन्तिम कुरा गर्छौँ भन्नुभएको हुनाले हामी केही समय कुर्छौँ। सहयोगी दलसँग पनि कुरा गरेर टुंगो लगाउँछौँ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।