धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले माघ ११ गते विश्वासको मत लिने भएका छन्। नेकपा एमाले प्रदेश संसदीय दलका नेता रावल पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएका थिए।
मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्रमा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले ११ गते प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन्।
रावलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए। उनलाई एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थन छ।
पुस २८ गते पद तथा गोपनीयताको शपथ लिएका मुख्यमन्त्री रावलले सोही दिन प्रारम्भिक मन्त्रिपरिषद् पनि गठन गरेका थिए। रावल नेतृत्वको मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट खगराज भट्ट र एमालेबाट सन्तोषकुमारी शर्मा(थापा) मन्त्री नियुक्त भएका थिए।
मन्त्री भएकाहरुको जिम्मेवारी भने तोकिएको छैन। मुख्यमन्त्री रावलले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार र मन्त्रीहरुको कार्यविभाजन गर्ने बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।