काठमाडौं– वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम बराबरको प्रतिष्ठित इसा अवार्ड प्रदान गरिएको छ । ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले मंगलबार डा रुइतलाई उक्त अवार्ड प्रदान गर्न लागिएको घोषणा गरेको हो।
बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड हरेक दुई वर्षमा प्रदान गरिँदै आइरहेको छ। यो पटक डा रुइतलाई प्रदान गर्ने निर्णय भएको संस्थाले जनाएको छ। यो अवार्ड सन् २००९ मा स्थापना भएको हो। तर वितरण भने सन् २०१३ देखि सुरु भएको हो।
‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सार्वजनिक गरेको जानकारी अनुसार उक्त अवार्ड फेब्रुअरी महिनामा प्रदान गरिनेछ। ‘अवार्डको पाँचौं संस्करण अन्तर्गत सन् २०२३ मा डा सन्दुक रुइतलाई उक्त अवार्ड प्रदान गरिनेछ। अवार्डसँगै डा रुइतलाई १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम, गोल्ड मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ,’ संस्थाले सार्वजनिक गरेको जानकारीमा उल्लेख छ।
डा रुइतले आफूले उक्त अवार्ड पाउन लागेको जानकारी पाएको बताए। नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘यो प्रतिष्ठित अवार्ड पाउँदा निकै खुसी लागेको छ। नेपालीको छोराले यो अवार्ड पाउनु सानो कुरा होइन। यो अवार्डले विश्वमा नेपालीको आत्मसम्मान बढाउन मद्दत गर्छ।’
डा रुइतले अन्धोपन निवारणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्न लागिएको बहराइनका राजपरिवारका सदस्य शेख मो बिन मुबारक अल खालिफाले जानकारी दिएका छन्। मंगलबार अवार्ड घोषणा कार्यक्रममा उनले भने, ‘अन्धोपन निवारणका लागि डा सन्दुक रुइतले गर्नुभएकाे मानवीय कल्याणका लागि उहाँलाई इसा अवार्डका लागि छनोट गरिएको हो।’
गल्फ न्युजका अनुसार डा रुइतलाई अन्धोपन निवारण, विशेषगरी मोतिबिन्दुको क्षेत्र, मा गरेको योगदानका आधारमा यो अवार्ड प्रदान गर्ने निर्णय भएको हो।
उक्त अवार्डका लागि १३९ जना व्यक्ति र संस्थाहरु छनोटमा परेका थिए। जसमध्ये छनोट समितिले सुरुमा ६ जना संस्था-व्यक्ति छनोट गरेको थियो। अमेरिकास्थित मर्सी शिप, बंगलादेशको फ्रेन्ड्शिप एनजीओ, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी, स्वीटजरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउन्डेशन र नेपालका डा सन्दुक रुइत ६ जनाभित्र परेका थिए। उनीहरू सबैको कामकाे अध्ययन गरिसकेपछि डा रुइतलाई अवार्ड दिने निर्णय भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।