काठमाडौं– मंगलबार नियुक्त भएर सपथ खाएपछि नयाँ मन्त्रीहरूले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेसँगै मन्त्रीहरूले पहिलो निर्णयमा हस्ताक्षर गर्ने चलन छ। यो क्रम मंगलबार पनि रह्यो।
परराष्ट्रमन्त्री विमला राई पौड्यालले पदभार ग्रहण गर्दै नेपाल र श्रीलंकाबीच सम्झौता भएको एक तालिमको अवधिलाई थप गर्ने पहिलो निर्णय गरेकी छिन्। पौड्याल एमालेबाट मन्त्री बनेकी हुन्। उनी राष्ट्रिय सभा सदस्य हुन्।

यस्तै, काुनमन्त्री धुव्रबहादुर प्रधानले पदभार ग्रहण गर्दै अन्य मन्त्रालयहरूले बनाउनु पर्ने आवश्यक कानुनबारे जानकारी गराउन अन्य मन्त्रालयहरूलाई चिठी लेख्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्।
प्रधान राप्रपाबाट मन्त्री बनेका हुन्।
शहरी विकासमन्त्री विक्रम पाण्डेले प्रदेश सरकारले निर्माण गर्ने आधारभूत संरचनालाई एकरुपता ल्याउन अध्ययन गर्न कार्यदल गठन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। उनले शहरी विकासमन्त्रीको रुपमा पहिलो निर्णयको रुपमा उक्त निर्णयमा हस्ताक्षर गरेका हुन्। यसले प्रदेशमा हुने भवन निर्माणमा एकरुपता ल्याउने उनको दाबी छ।
त्यस्तै, झोलुङ्गे पुलको अभावमा खोला नदी पार गर्न नसकेको तुइनबाट वा हिँडेर लामो यात्रा गर्ने अवस्था अन्त्य गर्नेसम्बन्धी निर्णय पनि शहरी विकासमन्त्रीले गरेका छन्।
कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गर्ने निर्णय नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले गरेकी छिन्।

कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ। कृषि लगानी दशक आर्थिक वर्ष २०८०-०८१ देखि २०८९-९० सम्म सञ्चालन हुनेछ। यस्तै मन्त्री साहले कृषि बीमाको अनलाइनबाट भुक्तानी गर्नेसम्बन्धी निर्णय पनि गरेकी छिन्।
कृषि बीमाको भुक्तानी कागजीरुपमा हुँदा किसानले लामो समयसम्म क्षर्तिपूर्ति पाउन सकेका छैनन्। अनलाइन प्रक्रिया सुरु भएपछि क्षतिपूर्ति भुक्तानी सहज हुने विश्वास व्यक्त गरिएको छ। पदवहालीका क्रममा मन्त्री साहले सञ्चारकर्मीसँगको कुराकानीमा आफूले आम किसानको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
नवनियुक्त सञ्चारमन्त्री रेखा शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुआत गर्ने निर्णयमा हस्ताक्षर गरेकी छिन्। देशभर सञ्चारसेवालाई सर्वसुलभ, पहुँचयोग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। आफू नयाँ क्षेत्रमा आएको भन्दै मन्त्रालय र मातहतका सबै निकायको यथेष्ट जानकारी लिएर यसभित्र रहेका समस्या समाधान गर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।