काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
हेटौंडामा मंगलबार बसेको प्रदेश सभा बैठकबाट जमकट्टेलले विश्वासको मत प्राप्त गरेका हुन्। उनको पक्षमा ६ दल देखिएका छन्। बागमती प्रदेश सभामा सात दलको प्रतिनिधित्व रहेको छ।
विश्वासको मत प्राप्त गर्न ५६ सांसद आवश्यक रहेकोमा उनको पक्षमा १०५ मत खसेको छ। विपक्षमा तीनजना सांसदले मात्र मतदान गरेका छन्।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी र प्रतिपक्षमा बस्ने गरी नेपाली कांग्रेसले समेत जमरकट्टेललाई विश्वासको मत दिएको छ। विपक्षमा नेपाल मजदुर किसान पार्टीका तीन सांसदले मतदान गरेका छन्।
विश्वासको मत प्राप्त गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री जमकट्टेलले संसद्मा सहभागी अधिकांश दलले मत दिएको र ती सबैको विश्वासले खण्डित नगर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए।
उनले सातमध्ये ६ दलबाट विश्वासको मत आउनुले नयाँ सन्देश प्रवाह भएको र जनताको सेवामा आफू काम गर्ने बताए। ‘बागमती प्रदेश सरकार सर्वसम्वतको बाटोमा अघि बढेको छ। मेरो पक्षमा सबै एकै ठाउँमा हुनुभएको छ,’ उनले भने ‘यो विश्वासको मतले हामीलाई एउटा नयाँ सन्देश दिएको छ। हामी मुल रुपमा प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति एक ठाउँमा छौँ भन्ने सन्देश विश्वासको मतले दिएको छ।’
आगामी दिनमा आफ्नो नेतृत्वको सरकारले जनताको विश्वासलाई दिनमा सरकारका काम कारबाही पूर्ण रुपमा निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेश सरकारले जनताको चाहनाअनुसार पूर्ण रुपमा प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति काम गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।