काठमाडौं– नवनियुक्त परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले मन्त्रालय सम्हाल्दै आफूले काम गर्ने प्रमुख ३ वटा प्राथमिकता अघि सरेकी छन्। उनले पासपोर्ट बनाउनमा देखिएको समस्यालाई समाधान गर्ने, नेपालमा रहेका दातृ निकायका नियोगसँग विकास निर्माणमा आवश्यक समन्व्य गर्ने र विदेशमा रहेका नेपाली नियोगको सेवालाई सुदृढ गर्ने बताएकी छन्।
मन्त्री नियुक्त भएपछि मंगलबार शपथ ग्रहण लगत्तै पद्भार सम्हाल्न सिंहदरबार पुगेकी पौड्यालले आफ्ना प्राथमिकताहरु बताएकी हुन्।
नेपाली जनतालाई पुर्याउनुपर्ने सेवामा ठूला समस्या रहेको भन्दै त्यसलाई तत्काल सुधार गर्ने मन्त्री पौड्यालको भनाइ छ।
‘परराष्ट्र मन्त्रालयले नेपालमा जनतालाई पुर्याउने सेवा सुविधा सहज बनाउने पहिलो प्राथमिकता रहन्छ। अहिले पासपोर्ट बनाउनका लागि ठूलो समस्या देखिएको छ,’ पौड्यालले भनिन्, ‘त्यसकारण परराष्ट्रले जनतालाई सहज सेवा पुर्याउने प्रथमिकता हुन्छ।’
यस्तै, नेपालमा रहेका विदेशी कूटनीतिक नियोगसँग आवश्यक छलफल र समन्व्य गरेर नेपालको हितमा अधिकतम् फाइदा लिने दोस्रो प्रथमिकता रहेको पौड्यालले उल्लेख गरिन्।
‘नेपालमा रहेका कूटनीतिक नियोगहरुसँग समन्व्य गरेर कसरी काम गर्न सकिन्छ र राष्ट्रिय हितमा रहेर बढीभन्दा बढी फाइदा कसरी लिन सकिन्छ भन्ने मेरो दोस्रो प्रथमिकता हुन्छ,’ मन्त्री पौड्यालले भनिन्, ‘कूटनीतिक सम्बन्ध दह्रो बनाउने प्रथमिकता रहन्छ।’
त्यस्तै, विदेशमा रहेका नेपाली राजदूतावासहरुका सेवा सुदृढ गर्ने आफ्नो तेसो प्राथमिकता रहेको पौड्यालले जनाएकी छन्।
‘विदेशमा रहेका हाम्रा राजदूतावासामा नेपालीलाई कसरी सहज पहुँज पुर्याउने र सुरक्षित बनाउने भन्ने तेस्रो प्रथमिकता रहन्छ। त्यहाँ रहेका नेपालीलाई राजदूतावास छिर्दा घर आएको महसूस होस् भन्ने कसरी बनाउन सक्छौँ भन्ने कुरा प्रथमिकताका साथ छलफल गरेर सेवा सुदृढ गर्छौँ,’ पौड्यालले भनिन्।
पौड्याललाई नेकपा एमालेले मन्त्री बनाएको हो। पौड्याल राष्ट्रिय सभा सदस्य हुन्। उनी राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य र पूर्व कूटनीतिज्ञ समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।