काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा कर्णाली प्रतिनिधित्वविहीन बनेको छ। जनयुद्धकालमा माओवादीको आधार इलाका रहेको कर्णाली उक्त पार्टीका अध्यक्ष प्रधानमन्त्री भएकै समयमा प्रतिनिधित्वविहीन बनेको हो।
दोस्रोपटकको विस्तारपछि २३ सदस्यीय बनेको मन्त्रिमण्डलमा सबैभन्दा बढी प्रदेश १ का पाँचजना मन्त्री बनेका छन्। सुदूरपश्चिमबाट एकजना मन्त्री समेटिएका छन्।
प्रधानमन्त्री प्रचण्ड गोरखा–२ बाट निर्वाचित हुन्। उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट निर्वाचित हुन्।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य हुन् र उनी गोरखा–२ बाट चुनाव लड्ने गरेका थिए। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चितवन–२ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन्।
राजेन्द्रप्रसाद लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री प्रदेश १ को झापा–३ बाट निर्वाचि हुन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा दाङ- २ बाट निर्वाचित भएकी हुन्। शहरी विकास मन्त्री विक्रम पाण्डे चितवन- ३, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह बारा–२ बाट सांसद चुनिएकी हुन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बैतडी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राई धनकुटाबाट निर्वाचित हुन्। समानुपातिकबाट सांसद बनेका खानेपानीमन्त्री अब्दुल खान मधेस प्रदेशबाट प्रतिनिधित्व गर्छन्।
परराष्ट्रमन्त्री डा विमला राई पौड्याल राष्ट्रिय सभा सदस्य हुन्। उनी प्रदेश १ बाट प्रतिनिधित्व गर्छिन्। पर्वतबाट निर्वाचित पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन्।
सुनसरी- ३ बाट निर्वाचित भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छिन्। मधेश प्रदेशको सर्लाही–३ बाट विजयी हरिप्रसाद उप्रेती रक्षामन्त्री बनेका छन्।
प्रदेश १ को भोजपुरबाट निर्वाचित सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी प्रदेश १ को मोरङ–४ बाट निर्वाचित हुन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल काठमाडौं–६ बाट निर्वाचित हुन् भने समानुपातिकबाट सांसद बनेका डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्।
पश्चिम नवलपरासी–२ बाट निर्वाचित ध्रुबबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन्।
समानुपातिकबाट सांसद् बनेकी अर्घाखाँचीकी सुशिला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, ललितपुर–३ बाट निर्वाचित डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र मकवानपुर–१ बाट निर्वाचित दीपकबहादुर सिंह ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।