काठमाडौं– साताको पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३२ अंकले वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक ३२.७२ अंक बढेर २१८२.११ विन्दुमा पुगेको हो।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.८१ अंक बढेको छ भने फ्लोट इन्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४५ अंकले बढेको छ।
मंगलबार कारोबारमा आएका २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार कित्ता सेयर ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ।
गत बिहीबार करिब साढे ५ अर्बको कारोबार भएको थियो। नेप्सेका १३ उपसमूहमध्ये मंगलबार बैंकिङ उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ।
जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ५.१२ प्रतिशत, जलविद्युत उपसमूहको परिसूचक ५.०४ प्रतिशत, वित्त उपसमूहको परिसूचक यस दिन साढे ३ प्रतिशतभन्दा बढी बढेको छ। तर, यता बैंक उपसमूहको परिसूचक भने ०.३२ प्रतिशत घटेको छ।
मंगलबार नेप्से परिसूचकमा वृद्धि भएसँगै ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा ग्रीन भेन्चर्स, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। मंगलबालर अपि पावर कम्पनीको २३ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।