काठमाडौं– नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री रहेका जनमत पार्टीका नेता अब्दुल खानले तोकिएको जिम्मेवारी सम्हालेका छैनन्। मंगलबार मन्त्रिपरिषद् विस्तार गरी यसअघि विमानविभागीय रहेका र नवनियुक्त मन्त्रीहरुको जिम्मेवारी तोकिएको थियो।
जनमत पार्टीका खानलाई खानेपानी मन्त्रालय तोकिएको थियो। जनमत पार्टीले आफूहरुले माग गरेको मन्त्रालयको जिम्मेवारी नतोकिएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो।
उक्त पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति वा कृषि मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको थियो। तर, मन्त्रिपरिषद् विस्तारका क्रममा जनमत पार्टीका खानलाई खानेपानी मन्त्रालयको जिम्मेवारी तोकियो।
पार्टीले माग गरेको मन्त्रालयमा जिम्मेवारी नतोकिएपछि खानले पद्भार सम्हालेका छैनन्। प्रधानमन्त्री प्रचण्डसँगै शपथ लिए पनि उनको जिम्मेवारी तोकिएको थिएन। ढिलागरी जिम्मेवारी तोकिँदा पनि माग गरेको मन्त्रालय नपाएको भन्दै मन्त्री खान र जनमत पार्टीका नेताहरुले असन्तुष्टि जनाएका छन्।
मन्त्रालयहरुको भागबण्डाको विषयलाई लिएर जनमत पार्टीका नेताहरु अहिले अनौपचारिक छलफलमा छन्।
‘अहिले हामी छलफलका क्रममा नै छौँ। बैठकले के निर्णय गर्छ त्यसपछि हाम्रो मन्त्रीजीले जिम्मेवारी सम्हाल्ने कि सरकारबाट निस्किने भन्ने हुन्छ,’ जनमत पार्टीका एक नेताले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।