काठमाडौं- चौथो प्रयासमा सांसद बनेका पूर्वआईजी ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका छन्। मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी पश्चिम– २ मा राप्रपाका तर्फबाट विजय भएका उनी मंगलबार भएको मन्त्रिपरिषद् विस्तारमा समेटिएका हुन्।
निर्वाचनमा उनले कांग्रेस उम्मेदवार देवेन्द्रराज कँडेललाई पराजित गरेका थिए। ३४ हजार ९५९ मत ल्याएर प्रधान विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कँडेलले १९ हजार ५ सय ९४ र एमालेका दीपेन्द्रकुमार अधिकारीले १४ हजार ४९८ मत ल्याएका थिए।
आईजी भएको ३६ दिनमै सरकारले २०५३ चैतमा अच्युतकृष्ण खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई आईजी बनाएको थियो। त्यसविरुद्ध खरेल सर्वोच्च अदालत गएका थिए। अदालतको आदेशमा पुनः २०५४ मंसिरमा प्रधानलाई हटाएर खरेल आईजी भएका थिए।
अदालतको आदेशपछि आईजीबाट हटेर ध्रुवबहादुर प्रधान प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनेका थिए। सल्लाहकारबाट राजीनामा दिएर उनी २०५६ को आम निर्वाचनमै होमिए। नवलपरासी–४ बाट चुनाव लडेका उनले हार बेहोरे। २०६४ र २०७० पनि सोही ठाउँबाट चुनाव लडेका उनी विजयी हुन सकेनन्।
प्रत्यक्ष निर्वाचनमा पटक–पटक हार बेहोरेका उनी २०७४ को चुनावमा भने राप्रपाको समानुपातिक सूचीमा बसेका थिए। तर राप्रपाले तीन प्रतिशत थ्रेसहोल्ड नकटाउँदा उनको सांसद बन्ने त्यो प्रयास पनि सफल हुन सकेको थिएन।
पटक–पटक असफलता बेहोरेका प्रधानले संसद् छिर्ने सपनासहित यस पटक फेरि राप्रपाबाट उम्मेदवारी दिएका थिए। चौथो प्रयासमा भने उनी फराकिलो मतान्तरले विजयी भए। चौथो प्रयासमा सांसद बनेका प्रधान अहिले मन्त्री नै बनेका छन्।
चुनावमा पटक पटक हार बेहोरे पनि उनी पार्टीभित्र भने सफल नै थिए। राप्रपाको उनी उपाध्यक्ष समेत हुन्। २०७८ मंसिर १५ देखि १७ गतेसम्म काठमाडौं भएको राप्रपाको महाधिवेशबाट उनी उपाध्याक्ष चुनिएका हुन्।
प्रधान राजनीतिका साथै खेलकुद क्षेत्रमा पनि सक्रिय थिए। उनी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।