काठमाडौं– मंगलबार भएको मन्त्रिपरिषद् विस्तारमा अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनी पहिलो पटक मन्त्री बनेका हुन्।
३७ वर्षीय मोदी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। एमालेबाट राजनीति सुरु गरेका उनी २०५६ देखि माओवादीमा आबद्ध भएका हुन्।
मोदी २०७० मा पहिलो पटक समानुपातिक सभासद भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवार महेश आचार्यलाई पराजित गरेका थिए।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा भने उनले एमालेका विनोदप्रसाद ढकाललाई पराजित गरे। मोदीले ३० हजार ६१२ मत पाउँदा ढकालले भने २४ हजार ४६३ मत पाएका थिए।
२०५६ सालमा अखिल क्रान्तिकारीको इकाई सदस्य हुँदै राजनीतिमा सक्रिय भएका मोदी २०५७ सालमा माओवादीको क्षेत्रीय सदस्य भए।
२०५८ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य बनेका मोदी अनेरास्ववियु क्रान्तिकारीको उपाध्यक्ष, अध्यक्ष हुँदै माओवादीको जिल्ला सदस्य बने। २०७० सालको चुनावमा माओवादीको निर्वाचन परिचालन कमिटी संयोजक बनेका उनी संविधान सभामा समानुपातिकबाट सांसद बनेका थिए।
मोदीले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका नेता महेश आचार्यलाई पराजित गरेपछि थप चर्चामा आएका थिए।
उनी एक पटक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पनि विवादमा आएका थिए। मोरङको कटहरी क्षेत्रको विद्युत आपूर्तिलाई प्राधिकरणले बनाउन कटहरी सबस्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढीसम्म पनि लाइन तान्न नपाएपछि विवाद भएको थियो।
सुनसरीको दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयलाई लिएर मोदीले अवरोध गरेका थिए।
मोदीले कुलमानको आलोचना संसदीय समितिमा पनि गरेका थिए। प्रसारण लाइन निर्माण नसकिँदा कटहरी सबस्टेसन निर्माण सकिएर पनि प्राधिकरणले सञ्चालनमा ल्याउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।