काठमाडौं- ‘ग्यारेन्टी गर्छु- ३१ वर्षमा हुन नसकेका काम म ५ वर्षमा गर्छु,’ सुनसरी- ३ मा एमालेबाट प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गराएपछि भगवती चौधरीले सञ्चारकर्मीसमक्ष प्रतिक्रिया दिएकी थिइन्।
उनको भनाइ विजय गच्छदारप्रति लक्षित थियो, जो २०४८ सालदेखि लगातार ६ पटक सुनसरीबाट निर्वाचित भइरहेका थिए। गत मंसिर ४ गते भएको निर्वाचनमा भने गच्छदारलाई पराजित गर्दै चौधरी सांसद निर्वाचित भइन्।
उनै चौधरीले मंगलबार महिला तथा बालबालिका मन्त्रीको सपथ लिएकी छन्। अब उनले मत माग्दा दिएको उक्त अभिव्यक्तिमा कतिको खरो उत्रिन सक्छिन्, आगामी दिनमा थाहा हुनेछ।
चौधरीले तेस्रो प्रयासमा गच्छदारलाई पराजित गर्दै दोस्रो पटक र जनताको प्रत्यक्ष मतद्वारा पहिलो पटक संसद् प्रवेश गरेकी हुन्। यसअघि २०६४ को पहिलो संविधान सभामा उनी मनोनित सांसद भएकी थिइन्। चौधरीले मंसिर ४ को निर्वाचनमा पटकपटक उपप्रधानमन्त्री भएका र दर्जनौँ पटक मन्त्री भएका गच्छदारलाई पराजित गरेकी थिइन्।
चौधरी पहिलो पटक ‘फुल मन्त्री' बन्दै सत्ता राजनीतिमा प्रवेश गरेकी छिन्। यद्यपि, यसअघि २०६८ मा तत्कालीन झलनाथ खनाल नेतृत्वको सरकारमा उनी छोटो समय भू-संरक्षण राज्यमन्त्री भएकी थिइन्।
को हुन् भगवती चौधरी?
५१ वर्षीय चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य हुन्। उनको जन्म २०२८ वैशाख २ गते सुनसरीको औराबीमा भएको थियो। समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेकी चौधरी विद्यावारिधिका लागि शोध गरिरहेकी छिन्।
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा २०४६ सालको जनआन्दोलनमा भाग लिएकी चौधरीले २०४८ सालमा नेकपा एमालेको पार्टी सदस्यता लिएकी थिइन्। चौधरीले सक्रिय राजनीति भने २०५८ सालबाट थालेकी हुन्।
२०६४ मा नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्य बनेकी चौधरी २०७० मा कोशी अञ्चल समन्वय कमिटी सदस्य बनेकी थिइन्। यस्तै, नेकपा एमालेको काठमाडौँमा भएको नवौं महाअधिवेशनमा उनी केन्द्रीय सदस्य भएकी थिइन्।
यस्तै, २०७८ मा चितवनमा सम्पन्न १०औं महाधिवेशनबाट केन्द्रीय सदस्यका साथै श्रम तथा स्वरोजगार केन्द्रीय विभागको उपप्रमुखमा मनोनित भएकी छिन्।
चौधरी अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य तथा गरिबी निवारण विभागको सचिव समेत रहेकी छन्। उनी एमाले सुनसरी सहइन्चार्ज समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।