काठमाडौं– नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्यालले नेपाल असंग्लन परराष्ट्र नीतिमा अडिग रहने बताएकी छन्।
मंगलबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि पौड्यालले सञ्चारकर्मीसँग उक्त धारणा राखेकी हुन्। उक्त नीतिमा केहिलेकाहीँ फरक पर्ने हुँदा साझा बुझाई बनाएर अघि बढ्ने पौड्यालले बताइन्।
‘परराष्ट्र नीति हाम्रो असंग्लन परराष्ट्र नीति हो। व्याख्या गर्ने क्रममा दलहरुबीच फरक पर्न सक्छ। तर, हाम्रो असंग्लन परराष्ट्र नीति रहन्छ। त्यही नीतिलाई नै साझा बुझाई बनाउने हो,’ मन्त्री पौड्यालले भनिन्, ‘हामीसँग रहेका परराष्ट्र नीतिलाई कार्यान्वयन गर्छौं। त्यसमा केही ग्याप रहे सबैसँग सुझाव मागेर सुधार र परिमार्जन गर्छौं। तर, मान्छेपिच्छे नीति परिवर्तन हुनुहुँदैन र म गर्दिनँ पनि।’
मन्त्री पौड्याल नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य हुन्। यसअघि उनले कूटनीतिक नियोगमा र राष्ट्रिय योजना आयोगमा काम गरिसकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।