काठमाडौं– माओवादी केन्द्रकी सांसद रेखा शर्मा सञ्चार मन्त्री बनेकी छिन्। मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा शर्माले पनि अवसर पाएकी हुन्।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा शर्माले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी थिइन्। त्यहाँ शर्माले २६ हजार ८८० मत पाएकी थिइन् भने पोखरेलले २६ हजार ६८७ मत पाएका थिए। यो निर्वाचन परिणाम मंसिर ४ को निर्वाचनको केही चर्चित परिणाममध्ये एक थियो।
शर्माको मन्त्री बन्ने अवसर पाएको यो दोस्रोपटक हो। २०७२ मा गठित केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा उनी सामान्य प्रशासन मन्त्री बनेकी थिइन्। उनी आफ्नो पार्टीका तर्फबाट सचेतक तथा प्रमुख सचेतकसमेत बनिसकेकी छिन्।
५३ वर्षीय शर्माले २०४२ देखि अनेरास्ववियुको स्कुल इकाइ कमिटीबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी हुन्। योङ कम्युनिस्ट लिगको केन्द्रीय सदस्य, अनेमसंघ क्रान्तिकारीको अध्यक्ष, तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य हुँदै उनी अहिले माओवादी केन्द्रको स्थायी कमिटी सदस्य छिन्। माओवादी जनयुद्धको क्रममा उनी एक वर्ष सैनिक हिरासतमासमेत बसेकी थिइन्।
शर्मा २०७० को संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद्/सांसद निर्वाचित भएकी थिइन्। संसदीय समितिमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने सांसदको रुपमा उनी परिचित छिन्। मन्त्रीका रुपमा पनि उनीबाट त्यही अपेक्षा गरिएको छ।
सामान्यतयाः सरकारको प्रवक्ताको भूमिका सञ्चारमन्त्रीले नै निर्वाह गर्ने गर्छन्। सम्भवतः शर्मालाई पनि त्यो जिम्मेवारी आउनेछ। त्यसैले आफ्नो मन्त्रालय जोडिने विषयबाहेक पनि अन्य सबै जसो मन्त्रालयका काम र सरकार जोडिने सबै सार्वजनिक विषयमा उनले जवाफ दिनुपर्ने हुन्छ।
निर्वाचनअघि नेपाल लाइभलाई दिएको अन्तर्वार्तामा शर्माले भनेकी थिइन्- ‘बेइमानी गर्दिनँ। राजनीतिमा निष्ठा र इमान भएका मान्छे पनि छन् है भन्ने विश्वास र आशाको दियो जनतामा जगाइराख्नेछु।’ सांसद र मन्त्री बन्ने भनेको भ्रष्ट हुने हो भन्ने आम बुझाइ रहेको स्थितिमा उनले आफ्नो इमान कसरी जोगाउनेछिन्, त्यो भने प्रतीक्षाकै विषय हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।