काठमाडौं- डा विमला राई पौड्याल पहिलोपटक मन्त्री बनेकी छन्। उनी नेकपा एमालेका तर्फबाट परराष्ट्रमन्त्री बनेकी हुन्। विद्यार्थी जीवनबाट राजनीति सुरु गरेकी विमला राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी थिइन्।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अर्थ तथा योजना समिति सदस्य र अखिल महिला संघको केन्द्रीय समितिमा रहेकी विमलाको संसदीय यात्रा भने २०७४ सालबाट सुरु भएको हो।
उनी दिगो विकास तथा सुशासन समितिमा सदस्य रहेकी छन्।
विमलाले १६ महिना राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरेकी थिइन्। उनले राष्ट्रपति कार्यालयमा विकास मामिला विज्ञ (सल्लाहकार) को रुपमा काम गरेकी थिइन्।
राजनीतिभन्दा गैरसरकारी क्षेत्रका विभिन्न सामाजिक संघ/संस्थामा रहेर अनुभव हासिल गरेकी विमलाले एक्सन एड, डिएफआइडी, स्विस विकास सहयोग नियोग लगायतमा काम गरेकी छन्। उनले राज्यबाट ऐश्वर्य विद्या पदक तथा नेपाल विद्याभूषण पनि प्राप्त गरेकी छन्।
राष्ट्रिय सभामा मात्र नभइ महिला सशक्तीकरणदेखि राज्यका हरेक निकायमा खरो रुपमा वकालत गर्ने विमला परराष्ट्र मन्त्री बनेपछि उनको विज्ञताको चर्चा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।