काठमाडौं– काठमाडौंमा मंगलबार विश्व हिन्दी दिवस मनाइएको छ। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय हिन्दी विभाग र नेपालमा रहेको भारतीय दूतावासद्वारा संयुक्त रूपमा मंगलबार विश्व हिन्दी दिवसको अवसरमा कार्यक्रम गरिएको थियो।
भारतीय दूतावासमा आयोजित कार्यक्रममा प्रतिनिनिध सभाका सांसद मंगलप्रसाद गुप्तासहित विभागका प्रमुख सञ्जीता बर्मा र भारतीय दूतावासको उपप्रमुख प्रसन्न श्रीवास्तव सहितका अतिथिहरु सहभागी थिए।
कपिलवस्तुबाट प्रतिनिधि सभाका सांसद तथा हिन्दी मञ्च नेपालका अध्यक्ष गुप्ताले हिन्दी भाषाले नेपाल र भारतको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाएको बताए। उनले हिन्दीको विश्वस्तरमा महत्व रहेकाले यसलाई थप अन्तर्राष्ट्रीयकरण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा भारतका प्रतिष्ठित भाषाविद् डा विमलेश कान्ति बर्मा, नेपालका वरिष्ठ हिन्दी साहित्यकार गंगाप्रसाद अकेला र डा रामदयाल राकेश लगायत विशिष्ट अतिथिको रुपमा सहभागी थिए।
दूतावासका उपप्रमुख श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा हिन्दी दिवसको अवसरमा दिइएको सन्देश पढेर सुनाएका थिए।
कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका विद्यार्थीले हिन्दी कविता वाचन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।