काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले विवाहको क्रममा पण्डितहरुलाई संस्कृत श्लोक पढ्नुभन्दा 'शून्यको मूल्य' बुझाइदिन आग्रह गरेका छन्। डा नवराज केसीद्वारा लिखित 'शून्यको मूल्य' विमोचनका एक जना वक्ता भट्टराईले त्यसो गरिए नवविवाहित जोडीलाई बढी उपयोगी हुने बताए।
'पण्डितहरुले पूरै संस्कृत शास्त्र पढेर बिहेबारी गर्नुहुन्छ। त्यस्तो श्लोकहरु पढ्नुको साटो, बरु यस्तो किताब राखेर विवाहपछिको कर्तव्य यो हो भनेर बुझाइदिए बढी सहज हुन्थ्यो। त्यसैले हाम्रो पण्डितहरुले यो किताब पढेर दुल्लाहदुल्लहीलाई दिए राम्रो हुन्थ्यो। उपयोगी हुन्थ्यो', उनले भने।
भट्टराईले आफू सामान्यतया नरुने र एकाध घटनाक्रमबाहेक आँसु पुछ्ने गरेर रोएको अनुभूति गर्न नपाएको बताएर तर लगत्तै 'शून्यको मूल्य' पढ्दा भने आँसु झरेको बताए। 'यो किताब पढ्दै गर्दा कतिपटक आँसु झरेर भनेर मैले गणना नै गर्न सक्दिनँ। मनलाई नै छोएपछि आँसु थाम्न नसकिँदोरहेछ। त्यस्तो अनुभूति मलाई भयो', उनले भने।
कार्यक्रमका अन्य वक्ताले पनि पढ्ने क्रममा आफूलाई आँसु आएको बताएका थिए। अभिनेत्री सुरक्षा पन्त तिनैमध्येकी एक हुन्। 'किताब पढ्दै गर्दा पटकपटक धेरै पटक रुदिनँ भन्दाभन्दै पनि आँखामा आँसु आयो', उनले भनिन्, 'तर, रुँदा पनि केही समस्या भएको छैन भनेर लेखकले पुस्तकमार्फत सुमसुम्याएको र जीवनमा केही नयाँ आयाम थपिन्छ भनेको जस्तो महसुस भयो।'
उनले किताब मन छुने खालको भएको र तथ्य र भावनाको मिश्रण एकदमै मीठो रहेको बताइन्।
पन्तले दुई पेशामा हुनेहरुले पुस्तक पढ्नुपर्ने सुझाव दिइन्। उनको भनाइ थियो, 'पहिलो, डाक्टरी पेशामा हुनेहरु। किनकि उहाँहरु मानिस हुन एकदमै आवश्यक छ। दोस्रो, राजनीतिक र प्रशासनिक तहका मान्छेहरु। तर उहाँहरुले यो किताबको आशय बुझ्नुहुन्छ भनेर म ग्यारेन्टी दिन सक्दिनँ। किनकि त्यसका लागि असल मानिस हुन बहुत जरुरी हुन्छ। त्यस्ता व्यक्तिहरु ती पदमा कम छन्।'
पन्त लगायतका वक्ताले पुस्तक पढ्दै गर्दा आफूमा ईर्श्या उत्पन्त भएको बताएका थिए। यद्यपि त्यसको कारण भने फरकफरक थियो।
'बुढेशकाल लाग्दैपछि ममा कमै ईर्श्या हुने गरेको थियो। तर यो पुस्तक पढ्दै गर्दा भने मीठो ईर्श्याले भुतुक्क भएँ। किन मैले यस्तो कुरा लेख्न सकिनँ भन्ने लाग्यो', डा अरुणा उप्रेतीको भनाइ थियो।
उनले किताबले पञ्चायतकालदेखि अहिलेसम्मका राजनीतिक नेताहरुलाई थप्पड हानेको दाबी गरिन्। उनले स्वाथ्यकर्मीले मात्रै होइन, सामाजिक रुपमा चेतना भएका सबै नेपालीले पढ्नै पर्ने किताब भएको बताइन्। 'किताब पढेपछि २१ ओ शताब्दीमा कहाँ छौँ भन्ने कुरा बारम्बार आइराख्छ। यो किताब समाजशास्त्रीय दृष्टिकोणले पनि अत्यन्त उपयोगी छ। कर्णालीको ऐना भनेको छु', उनले भनिन्।
अर्की वक्ता डा रिता थापाले 'शून्यको मूल्य' पुस्तकले कर्णालीको कथाभित्रको कथालाई खस बोलिको मिठासमा प्रस्तुत गरेको बताइन्।
पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।