पोखरा- नेपाल लिट्रेचर फेस्टिभलको दशौं संस्करण पोखरास्थित फेवातालको किनारमा सुरु भएको छ। महोत्सव पुस ११ गतेसम्म चल्नेछ।
महोत्सवको उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले लिट्रेचर फेस्टिभलले पोखराको सांस्कृतिक विकासमा दिएको योगदानबारे बताए। मेयर आचार्यले समाजलाई सही बाटोमा डोहोर्याउन महोत्सवले भूमिका खेल्ने बताए। पोखराले पनि उक्त कुराको अपनत्व लिनु पर्ने उनको धारणा थियो।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले प्राज्ञिक बहसमा सहभागी हुन पाउँदा खुसी लागेको धारणा व्यक्त गरे। लेखक शिवानीसिंह थारुले साहित्यिक महोत्सव ले अहिले संस्कृतिको रुप लिन थालेको भन्दै खुसी व्यक्त गरिन्।
कार्यक्रमका निर्देशक निरज भारीले फेस्टिभलको दशौं संस्करणसम्म पोखरा ल्याउन ठूलो भूमिका खेल्ने पूर्व पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीलाई सम्झिए।
बुकवर्म फाउन्डेसनले गर्दै आएको साहित्यिक महोत्सव फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धक पोखरा महानगरपालिका छ।
फेस्टिभलको ५५ वटा बढी छलफलमा सहभागी हुन देश विदेशबाट २०० जनाभन्दा बढी पोखरा आएका छन्। उद्घाटनको पहिला दिन डा अच्युत वाग्लेले विद्वत् प्रवचन दिएका छन्।
पहिलो दिन ‘घरबाट विद्यालय’सम्म विषयक सेसनमा डा मीनाक्षी दाहाल, शिशिर खनाल र दिनकरले नेपाल बहस गर्नेछन्। त्यस्तै, पहिलो दिन नै स्व गोपाल योञ्जनको स्मृतिमा गोपालयः सांगीतिक प्रस्तुति रहनेछ।
सन् २०११ मा काठमाडौंबाट सुरु भएको नेपाल लिट्रेचर फेस्टिभल सन् २०१६ देखि पोखरामा आयोजना हुन थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।