काठमाडौं– ‘विनोदविक्रम केसी एक असल बागी कवि हुन्।’ कवि विमल निभाले मण्डला थिएटरमा कविता ‘भोकको क्षेत्रफल’ वाचन गर्नुअघि भने।
सुसेला समूहले सोमबार आयोजना गरेको काव्याशाला कविता कन्सर्टमा कवि विनोदविक्रम केसीको एकल कविता वाचनमा निभाले दाबी गरे, ‘विनोद बागीहरूको प्रतिनिधि हुन्।’
निभाले भनेजस्तै विनोदले आफ्ना ‘बागी’ कविता सुनाएर श्रोता/दर्शकलाई उत्साहित बनाए। ‘अफ्ठ्यारो मान्छे’, ‘आज सरको क्लास लिन्छ विद्यार्थी’, ‘जण्ड वेश्याको वक्तव्य’, ‘भूमण्डलीकरण’, ‘प्रेम केही प्रकरण’, लगायतका दर्जन कवितामा चोटिला बिम्बमार्फत् विद्रोह उजागर गरे।
उनका कवितामा प्रश्नहरू थिए, सीमान्त ‘पिँधका मान्छे’का आवाजहरू थिए।
‘जबसम्म यो कक्षाकोठामा
प्रवेश गर्ने छैनन्
बाढीले खाने खेत
र, पहिरोले लाने बारीको ज्यामिति
झुपडीको अर्थशास्त्र
दुःखको समाजशास्त्र
पीडाको वास्तुशास्त्र
आँसुको रसायनशास्त्र
तबसम्म म बहिष्कार गर्छु
तपाईंका कक्षाहरू...’
‘भोकको क्षेत्रफल’ कविता संग्रहमा भएको ‘आज सरको क्लास लिन्छ विद्यार्थी’मा कवि विनोदले बुर्जुवा शिक्षामाथि विद्यार्थीको आक्रोशित मनोविज्ञान सुनाए।
कवितामा मात्र हैन, जनवादी गीतमा पनि कवि विनोदले आफूलाई उभ्याए। सुसेला समूहले बीचबीमा उनको ‘सडक बडार्ने केटी’, ‘लाइदे आलाराम’ गीतलाई संगीतमार्फत् हलभरि गुन्जाइरह्यो।
‘तपाईं सिसिटिभीको निगरानीमा हुनुहुन्छ’ कवितामा उनले मजदुर र गरिब मान्छेहरूलाई राज्यसत्ताले गरिरहेको दमनविरुद्ध व्यंग्य छेडे।
कवि भूपाल राईले ‘नेपाल सानै छ देवकोटा जी’ कविता वाचन गर्नुअघि विनोदबारे भने, ‘समाजलाई अरुले सुल्टो तरिकाले हेर्छन्। तर, विनोदले उल्टो तरिकाले हेर्छन्। त्यसकारण विनोदका कविताभित्र पनि कविताहरू छन्।’
विनोदविक्रम धेरैपछि स्टेजमा देखिएका थिए। कविताको शक्तिबारे उनले कविताबाटै बोले।
‘शक्ति हुनेले शक्ति देखाउँछ, सत्ता हुनाले सत्ताको तागत देखाउँछ। मसँग तपाईंहरुको प्रेम थियो, प्रेम देखाएँ’, कविता कन्सर्टको बिट मार्दै विनोदले भने, ‘सबैले आफूसँग जे जे छ त्यही देखाउँछ। विनोदसँग कविता छ। त्यसैले कविता मेरो राजनीति हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।