काठमाडौं– आज राति हुने विश्वकप फुटबल फाइनललाई अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी र फ्रान्सका स्टार फरवार्ड केलियन एम्बाप्पेबीचको भिडन्तका रूपमा हेरिएको छ।
संयोगवश यी दुई खेलाडी एउटै क्लब अर्थात फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट खेल्छन्। यसर्थ, क्लब स्तरमा नजिकका सहकर्मी हुन्। तर कतारमा जारी विश्वकपमा भने यी दुवै टोलीबीच गोल्डेन बुटको तीव्र प्रतिस्पर्धा चलिरहेको छ।
विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीले पाउने यो पुरस्कारको दौडमा मेसी र एम्बाप्पे सँगसँगै छन्। थोरैले मात्र मेसी अगाड छन्। मेसी र एम्बाप्पेले समान पाँच गोल गरेका छन्, तर असिस्टमा मेसी एकले अगाडि छन्। मेसीले तीन तथा एम्बाप्पेले दुई असिस्ट गरेका छन्। फाइनलमा कुनै पनि खेलाडीले गोल वा असिस्ट नगरेको अवस्थामा मेसीले पुरस्कार जित्नेछन्।
चार वर्षअघि रुसमा भएको विश्वकपको अन्तिम १६ मा यी दुई खेलाडीबीच भेट भएको थियो। सो खेल फ्रान्सका युवा सनसनी एम्बाप्पेले दुई गोल गरेका थिए। मेसीले भने दुई असिस्ट गरेका थिए। यो खेल अन्तर्राष्ट्रिय क्षेत्रमा मेसी र एम्बाप्पेबीच भएको पहिलो भेट थियो।
मेसीले गाब्रियल मार्काडो र सर्जियो अग्वेरोका लागि पास उपलब्ध गराएका थिए। अन्त्यमा खेल भने एम्बाप्पेको टोली फ्रान्सले ४–३ ले जितेको थियो। मेसी र एम्बाप्पे आज राति ८ः४५ बजे दोस्रोपटक आमने–सामने हुँदैछन्। विश्वकपको फाइनलमा हुने यो भेटमा कसले बाजी मार्ला भनेर सबैले ब्यग्र प्रतिक्षा गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।