काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर बढ्नु स्वभाविक भएको बताएका छन्। बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को साधारण सभामा बोल्दै गभर्नर अधिकारीले बैंकको ब्याजदर बढ्नु स्वभाविक भएको र त्यसलाई बजारले पचाउनुपर्ने बताएका हुन्। उनले ब्याजदर तोक्न राष्ट्र बैंकलाई बाध्य नपार्न पनि अनुरोध गरे।
गभर्नर अधिकारीले बैंकको ब्याजदर तोक्न पाउँदा राष्ट्र बैंकलाई सजिलो हुने, तर दीर्घकालीन रुपले गलत अभ्यास हुने पनि बताए। गभर्नर अधिकारीले अर्थतन्त्रमा देखिएका सुधारअनुसार पोलिसी रिफर्म पनि भइरहेको दाबी गरे। अर्थतन्त्रमा संकट आउँदा आयात प्रतिबन्धदेखि बैंकको ब्याज र ऋण लगानीमा कडाइ गरिएको, तर सहज परिवेश बन्दा खुकुलो पोलिसी लिँदै गएको गभर्नर अधिकारीको भनाइ छ।
यसैगरी, अधिकारीले पुसमा बजारमा तरलताको अभाव झनै बढ्ने बताएका छन्। उनी भन्छन, ‘यो पुसमा सरकारको कोषमा पैसा आउँछ। पुस महिनामा इस्यू क्यालेन्डरअनुसार करिब करिब ३० अर्ब आन्तरिक ऋण रकम आउँछ। जुन नियमित प्रक्रिया हो। पुसमा गत वर्ष राष्ट्र बैंकले पुनर्कर्जामा सेड्यूलअनुसार ६० अर्ब पुनर्कर्जा दिएको थियो। त्यसको असर यो वर्षको पुसमा पर्नेछ। कसरी तरलता अभावलाई सहज बनाउन सकिन्छ त्यसका लागि प्रयास भइरहेको छ। तरलता सहज बनाउनका लागि राष्ट्र बैंकले गरेको कामलाई गहिरिएर बुझ्न जरुरी छ।’
तरलता अभाव सहज बनाउनका लागि बैंकले गरेको कार्य हेर्ने हो भने छुट्टै आलेख बन्ने उनी बताउँछन्। ‘गत वर्ष करिब ९७ अर्ब तरलता बजारमा प्रवाह गरेको थियो। अहिले पनि साढे १ खर्ब जति बैंकलाई तरलता दिइरहेको छ। यसले गर्दा राष्ट्र बैंकको तर्फबाट गर्नुपर्ने कार्य गरिरहेको छ,’ उनी भन्छन्।
बजारमा तरलता अभाव हुँनुको मुख्य कारण बीओपी रहेको उनको भनाइ छ। ‘बीओपी आयातमुखी छ। त्यस्तै सेवा क्षेत्रमा पनि नेट घाटा देखिरहेका छौँ। पछिल्ला दिनहरुमा राम्रो खालको रेमिट्यान्स आप्रवाह भइरहेको छ। जसको फलस्वरुपमा केही सहजता थपिएको छ,’ उनी भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।