परिवर्तनको कथा नामबाटै सुरु गरौँ...।
०६२/०६३को जनआन्दोलनपश्चात् देशमा निरंकुश राजतन्त्रको अन्त्य भयो। गणतन्त्र स्थापना भयो। जनताले परिवर्तनको महसुस गरे। मोतिबहादुरले त्यही मेसोमा आफ्नो नाम बदलेर लेखे, ‘परिवर्तन एमबी।’
विस्तारै ‘एमबी’ छुट्यो। र बाँकी रह्यो, परिवर्तन। यही छोट्याएको नामले उनको चिनारी दियो।
परिवर्तनलाई भेट्न पोखरा जानुपर्छ। त्यहाँ हुर्किरहेको थिएटर कल्चर बुझ्नुपर्छ। पोखरा नाटकघरले उतारचढावसहित चुमेको सफलता नियाल्नुपर्छ। विद्यार्थीहरूमा जागिरहेको नाट्यमोह अनुभूत गर्नुपर्छ।
उसो त परिवर्तन नाटकसँग अनौठोगरी जोडिएका थिए। जीवनमा नाटक जोडिएर आउँदैन थियो त कसैको सहारामा हिँडिरहेका उनका पाइला सायद रोकिनसक्थे।
हँसिलो अनुहारका परिवर्तन थापागाउँस्थित मण्डला थिएटरको कौसीमा बसेर आफ्ना विगतका कथा सुनाइरहेका थिए।
०६५ मा उनी त्रिचन्द्र कलेज पढ्थे। साँझ ७ बजेदेखि बिहान ९ बजेसम्म युटिएल कार्यालयमा सेक्युरिटी गार्डको ड्युटी थियोे। कलेज पढ्नु र जागिर खानु, त्यो बाहेक कुनै सपना थिएन परिवर्तनसँग। त्यही नियमिततामा एकदिन अचानक पूर्णबिराम लाग्यो।
उनलाई टाइफाइड भएको थियो। टाइफाइडपछिका दिन निकै अफ्ठेरा थिए।
एकदिन उनी सामाखुसीबाट ठमेल जाँदै थिए, अचानक टाउको दुख्यो। शरीर गह्रौं भयो। सडकमै थचक्क बसे। दीपक नामका साथीले देखेर उनलाई शिक्षण अस्पताल लगे। जाँच गर्दा शरीरमा कुनै रोग देखिएन। तर पनि बसेको ठाउँमा हिँडिरहेजस्तो, सुतिरहेको खाट उडिरहेजस्तो महसुस भइरह्यो।
स्नातकको परीक्षा उनले सुतेरै दिए। एकदिन परीक्षा दिँदादिँदै हात चलेन। लगत्तै अस्पताल गएर जाँच गर्दा कुनै समस्या देखाएन।
त्यसपछि परिवर्तन आफ्नो घर स्यांजाको पुतलीबजार गए। घर फर्केपछि पनि समस्या कम भएन, बरु बढ्यो। बस्न र बोल्न गाह्रो हुने, हिँड्न नसक्ने। ‘त्यतिबेला नपुगेका अस्पताल र नभेटेका डाक्टर थिएनन्। तर रोग पत्ता लागेन,’ परिवर्तन सम्झन्छन्।
घरको भित्ता रुँघेर एक्लै बस्नुपर्दाको क्षण कति पीडादायी हुन्थ्यो? उनले महसुस गरेका छन्। तलमाथि गर्न पनि कसैको सहारा चाहिन्थ्यो उनलाई।
लामा दिनहरू एक्लै कटाउनुपर्दा पर्दा मन शिथिल हुन्थ्यो। त्यही क्रममा परिवर्तनको साथी बन्यो– रेडियो।
रेडियोका कार्यक्रममध्ये उनलाई साहित्यिक कार्यक्रमले आकर्षित गर्न थाले। उसो त काठमाडौं छँदा नै गजल/मुक्तक लेख्ने र सुन्ने हुटहुटी बढेको थियो। एकजना साथीले गजल लेख्न हौस्याएका थिए। केही गजल लेखेपछि साथीहरूसँग मिलेर ‘आलमदेवीका थुंगाहरू’ संग्रह निकाले। ‘तर, अहिले सम्झँदा लाग्छ ती गजल थिएनन् लहड थिए,’ परिवर्तन भन्छन्।
उपचारका लागि परिवर्तनलाई पोखरास्थित दिदीको घरमा राखिएको थियो। दिदी, जो उनको जीवनमा आमा जतिकै महत्वपूर्ण थिइन्।
घरमा बसेर उनी दिनभरि साहित्यिक कार्यक्रम सुन्थे। रेडियोबाटै उनले पोखरामा भइरहेको साहित्यिक कार्यक्रमबारे थाहा पाए। परिवर्तनलाई अब त्यो कार्यक्रममा जाने चाहना बढ्यो।
'तर कसरी जाने?'
भान्जा रोहित केसी त्यतिबेला ८ वर्षका थिए। उनी भान्जाको सहारामा कार्यक्रममा जान थाले।
कार्यक्रममा जान्थे, गजलहरू सुन्थे अनि आफ्नो सुनाएपछि फर्कन्थे। भान्जालाई समातेर कार्यक्रममा पुग्दा अरुले ठान्थे,‘कति माया गरेको।’ ‘तर उनीहरूलाई के थाहा मलाई भान्जाले चाहिँ सहारा दिएर ल्याएको,’ उनी सुनाउँछन्।
परिवर्तन सधैं शनिबारको प्रतीक्षामा दिन गन्न थाले। त्यसरी नियमित कार्यक्रममा जान थालेपछि अरु साथीहरूसँग उनको हिमचिम बढ्यो। उनका गजलहरू मन पराइन थाले। ‘जान थालेको १ वर्षमा मुक्तक मञ्च पोखराको उपाध्यक्ष भएँ। २ वर्षपछि त अध्यक्ष,’ उनी सुनाउँछन्।
त्यो संस्था साहित्यिक गतिविधिमा पोखरामा सक्रिय थियो।
०६९ देखि ०७२सम्मको क्षण परिवर्तनका लागि महत्वपूर्ण छन्। त्यो बीचमा उनले संस्थालाई नेतृत्व गर्न पाए। पोखरामा सिर्जनशील र बौद्धिक व्यक्तित्वहरूसँग नजिक हुन पाए।
‘६० देखि ७०को दशकको बीचमा नाट्य गतिविधि शुन्यप्रायः थियो। त्यतिबेला धेरैको चिन्ता हुन्थ्यो, पोखरामा अनुप बराल दाइहरू काठमाडौं गएपछि नाट्य गतिविधि भएन,’ उनी सम्झन्छन्।
त्यहीँबाट नाटकप्रतिको रुचि जाग्न थाल्यो परिवर्तनमा।
०७० ताका पञ्चामृत नाट्य समूह निर्माण गरेर उनीहरूले रेडियो नाटक सुरु गर्न थाले।
रेडियो अन्नपूर्णमा बिहान ५देखि १० बजेसम्ममा रेकर्ड गरिसक्नुपर्ने थियो। तर परिवर्तन ५ बजे उठेर हिँड्न नसक्ने।
साथी प्रान्जलले भने, ‘चिन्ता नगर, म लिएर हिँड्छु।’
त्यसपछि प्रान्जलको सहारामा उनी नाटक रेकर्ड गर्न जान थाले।
परिवर्तनमा मसिना बदलाब देखिन थाले। आँखामा फैलिरहेका सपना र हुटहुटीले उनीभित्रको कमजोरीलाई जितिरहेको थियो। त्यो बीचमा उनले आफूलाई एन्जाइटी भएको थाहा पाइसकेका थिए।
एकदिन नाटक रेकर्डको क्रममा उनको एन्जाइटी बढ्यो। केही दिन पुनः गाह्रो बनायो परिवर्तनलाई।
तर, वरिष्ठ मनोचिकित्सक डा. कपिल उपाध्याय उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बनेर आइपुगे।
उनी उपचारका लागि काठमाडौं पुगेका थिए। रत्नपार्कबाट मोडल हस्पिटलतर्फ जाँदै थिए। उनको टाउका गह्रँगो भयो। फनफनी घुमायो। असह्य भएपछि थचक्क बसे। त्यहीबेला भीड जम्मा भयो। ‘मलाई कसैले सोधेछ कहाँ जाने भनेर। मैले डा. कपिलकोमा भनेपछि ट्याक्सी खोजेर पठाइदिएछन्,’ धमिला स्मृतिमा त्यो क्षण खोतल्छन् उनी।
उनलाई अस्पतालको गेटमा ट्याक्सीले छाडिदियो। टिकट काटेर रेलिङ समाउँदै उनी कतिबेला डाक्टरको कक्षमा पुगे, राम्रो सम्झना छैन।
जानेबित्तिकै उनलाई डा. कपिलले सोधे, ‘तपाईंलाई के हुन्छ?’ ‘मलाई हिँड्न एकदमै गाह्रो हुन्छ,’ परिवर्तनले जवाफ दिए।
‘त्यसो भए हिँड्नु न त,’ डा. कपिलले एउटै जवाफ दिए। डा. कपिलको यो वाक्यले परिवर्तन झस्किए।
त्यसपछि उनले आफूलाई फर्किएर हेरे। ‘म ०६५ देखि अस्वस्थ छु। तर यत्रो वर्षसम्म हिँडिरहेकै छु। पहिला भान्जासँग हिँड्थें। अहिले एक्लै ५ किलोमिटर हिँडिरहेकै छु। मलाई केले यत्रो हिँडाइरहेको त छ?’ उनले मन्थन गरे।
र निष्कर्ष निकाले, ‘थाहा नपाउने गरी प्यासनले हिँडाइरहेको रहेछ। अब मैले हिँड्ने बाटो खोज्नुपर्छ।’
जब उनी हिँड्नै नसक्ने भएर थलिएका थिए, वास्तविक हिँडाइ त्यहीँबाट न सुरु भएको थियो।
त्यसदिनदेखि परिवर्तनले औषधि नखाने निर्णय गरे। उनले आफूलाई नियाल्न थाले। के गर्दा सहज हुन्छ, के गर्दा असहज।
‘मलाई औषधिले हैन, कलाले जीवन दिएको रहेछ,’ उनी निश्चित भए।
औषधि छाडेको ६ महिनासम्म उनी कुनै रात सुत्न सकेनन्। ती रातहरू लामा र कस्टकर थिए। परिवर्तनले त्यो कष्टलाई सहे। र जति नै कठिनाइ भए पनि पाइलालाई रोकिन दिएनन्।
‘कुनै दिन मैले नाटक गर्न सकिनँ भनिनँ। जति रुन्थें नाटकको पात्र बनेर रुन्थेँ। अनि आफ्नो दुखाइ रिलिफ गर्थेँ,’ उनी सम्झन्छन्।
नाटकले उनको जीवनमा जादु गर्यो। ब्लक भएर बसेको इमोसन बाहिर निकालिदियो। तनाबहरू कम गराउन मद्दत गर्यो। र उनी स्वस्थ बन्दै गए।
त्यसछि उनले निर्णय गरे– अब म रंगमञ्चबाहेक अरु गर्दिनँ।’
०७३ सालमा कृष्ण उदासीको निर्देशनमा परिवर्तनहरूले नाटक गरे ‘पुलिस र प्यासा।’ नाटकको पहिलो शो मा उनलाई फेरि एन्जाइटीले हान्यो। सबै दर्शक नाटक हेर्न आइसकेका थिए। उनी कस्ट्युम लगाएर तयारी अवस्थामा थिए। गाह्रो भएपछि साथीहरू तर्सिए।
तर, उनले नाटक गर्नुथियो। गाह्रो हुँदाहुँदै पनि मञ्चमा गए। नाटक सकेर बाहिर निस्कँदा १५ मिनेसम्म के गरे उनले बिर्सिसकेका थिए। ‘त्यतिबेला हल्का टाउको दुखेको थियो।मञ्चमा के गरेँ थाहा छैन। तर जे गरेँ राम्रै भएछ,’ उनी सम्झन्छन्।
त्यतिन्जेल आफूलाई एन्जाइटी भएको कुरा उनले साथीहरूलाई सुनाएका थिएनन्।
किन त ?
‘जबसम्म समस्या हुन्छ नि,समस्याबारे भन्न सकिन्न रहेछ। त्यसबाट बाहिर निस्केपछि मात्र भन्न सकिने रहेछ,’ उनका अनुभूति बोल्छन्।
नाटक परिवर्तनको लागि ‘आर्ट थेरापी’ बन्दै थियो। तर, पोखरामा नाटकघर थिएन। लाग्यो, नाटकघर विना नाटक कसरी हुन्छ?
काठमाडौंका नाटकघर पस्दा अर्कै संसार लाग्थ्यो परिवर्तनलाई। ‘तर पोखरामा उद्योग वाणिज्य संघको हलमा नाटक गर्दा हल्ला र अस्तव्यस्त महसुस हुन्थ्यो,’ उनी सुनाउँछन्।
उनीहरूले नाटक गर्दा दर्शकहरू हुटिङ गर्थे। अनि निर्देशक भन्थे, ‘देख्यौ, नाटक राम्रो भएपछि कस्तो हुन्छ!’ तर त्यो भ्रम काठमाडौंका नाटकघरमा नाटक हेरेर फर्कँदै गर्दा चिरिएको थियो।
नाटक ‘मौसम हराएको देश’को मञ्चनताका पनि नाटकघरको अभाव महसुस गरे उनले। त्यतिबेला विनासल्लाहमै सार्वजनिक रुपमा एउटा घोषणा गरिदिए, ‘पोखरामा एक वर्षमै नाटकघर बन्छ।’
घोषणाको भोलिपल्ट बिहानै उनले एउटा समाचारको हेडलाइन देख्छन्, ‘पोखरामा एक वर्षमै नाटकघर बन्ने।’
त्यो हेडलाइनले परिवर्तनलाई तर्सायो। योजनाविनै फुत्त निस्किएको घोषणा थियो परिवर्तनको। त्यसपछि त लगातार प्रश्नहरू आइरहन थाले, ‘नाटकघरको काम के के हुँदैछ?’
नसोची बोल्दा पाइने दुःख अब सुरु भयो उनमा। ‘बोलेका कुरा त याद गर्ने रहेछन्। अब मैले यसलाई मूर्तरुप दिनैपर्छ,’ उनले सोचे।
सुरुमा चार जना साथीसहित नाटकघरका लागि लगानी गर्ने भए।
जग्गा भेटाएपछि एकजना साथी लगानी गर्न पन्छिए। बाँकी ३ जनाले काम अगाडि बढाए। जब नाटकघर बनाउन सुरु भयो, अर्को साथी पनि पन्छिए। ‘जोसँग धेरै बजेट थियो। उहाँ नै पन्छिएपछि त हामी चिन्तित भयौं। पछि जग्गाधनी शंकरनाथ कोइरालासँग कुरा गर्यौं। बाँकी लगानी गर्न उहाँ सहमत हुनुभयो,' उनी सुनाउँछन्।
यसरी परिवर्तन, दिलप्रसाद गुरुङ र शंकरनाथ कोइराला संयुक्त रुपमा नाटकघर निर्माणमा लागिपरे।
यही बीचमा काठमाडौंका रंगकर्मी राजन खतिवडा पोखरा पुगेका थिए। त्यतिबेला नाटकघर आधा बनेको थियो। राजनले भने, ‘प्ले मेकिङ डाइरेक्सनको वर्कसप हुँदैछ। त्यसमा तपाईं सहभागी हुनुस्।’
परिवर्तन वर्कसपमा आएपछि अचम्मित भए। बल्ल बुझे असली थिएटरबारे। ‘सुरुमा थिएटर थाहा नपाउँदै सुरु गरेर मैले राम्रो गरेछु, यदि यसको चुनौती थाहा हुन्थ्यो त सुरु गर्दिनँ थिएँ,’ उनी हाँस्दै भन्छन्।
वर्कसपबाट सिकेका अर्को महत्वपूर्ण कुरा उनी सम्झन्छन्, ‘मैले यहाँबाट के सिके थाहा छैन। तर मैले जे गरिरहेको छु त्यो चाहिँ सही हैन भन्ने कुरा बुझें।’
नाटकघर बन्यो। नाम राखे– पोखरा थिएटर।
पहिलो ब्याचको नाटक ०७४ साल फागुन २ मा मञ्चन भयो। सोमनाथ खनालको निर्देशनमा ‘सिरुमा रानी’ गरिएका थिए।
पहिलो नाटक ‘हाउसफूल’ भयो। सोचे– थिएटरमा त भयंकर हुँदो रहेछ।
त्यसपछि गरिएको राष्ट्रिय नाटक महोत्सव पनि भव्य भयो।
तर दोस्रो नाटकको पहिलो दिन २५ जना आए। विस्तारै कम हुँदै गयाे, एकदिन त दर्शक शुन्य थिए। परिवर्तनलाई आफू सपनामा हिँडेजस्तो अनुभूत भयो।
अर्को नाटकमा पनि दर्शक आएनन्। परिवर्तनले महसुस गरे, ‘सबै समस्याको समाधान नाटकघर होइन रहेछ।’
सुरुमा त दर्शक नाटकघर हेर्न आएका रहेछन्। त्यसपछि त नाटक हेर्ने भए। ‘नाटकघर हुँदैमा नाटक चल्ने हैन रैछ भन्ने बुझ्न मलाई डेढ वर्ष लाग्यो। मान्छेले थिएटर बनाइहाल्ने आँट गर्दैनन् भन्ने कुरा पनि त्यतिबेला बुझें,’ परिवर्तन भन्छन्।
अब राम्रो नाटक बनाउनुपर्ने चुनौती थियो।
जब नाटकका गतिविधि बढ्दै थिए, ०७६को अन्तिममा फैलिएको महामारी अवरोध बन्यो।
कोभिडका कारण २ वर्ष उनीहरूले नसोचेको क्षति व्यहोर्नुपर्यो। ‘२५ लाख ऋण लिएर सुरु गरेको थिएँ थिएटर, अर्को साथीले पनि त्यति नै ऋण लिएर गरेका थिए। महिनौंपिच्छे बुझाउनुपरेको ब्याज र कोभिडले भत्काएको योजनाका कारण हामी चिन्तामा गयौं,’ उनी सम्झन्छन्।
२ वर्षभित्रमा उनीहरूको नाटकको टिम छिन्नभिन्न भइसकेको थियो। सामानहरू पनि बिग्रिसकेका थिए।
कोभिडमा लकडाउन भइरहँदा अरु घरभित्र थुनिए। तर उनी भने थिएटरमा गइरहे। उनी उक्लै गएर सुनसान घरको आँगनमा पलाएको झार उखेली बस्थे।
२ वर्षपछि सबै शुन्यबाटै सुरु गर्न सहज थिएन। कतिपय रंगकर्मी साथीलाई सपनाले काठमाडौं डोहोर्याएको थियो।
‘हामी त्यस्तो ठाउँमा रंगकर्म गरिरहेका रहेछौं। जहाँ सानो सपना देख्ने मान्छे पनि अडिन गाह्रो छ। उनीहरूलाई अड्याउन त सबै चिज यहीँ चाहिने रहेछ,’ परिवर्तन भन्छन्।
उनले पोखरामा बसेर नाटकलाई पुनर्जीवन दिए। त्यसघि नाटकको बिउ उमारेका अनुप बरालले पनि परिवर्तनको सपनामा बुट्टा भरिदिए। ‘दाइको पनि पोखरामा नाटकघर बनाउने सपना छ। उहाँ सक्रिय हुनुहुन्छ यहाँ। उहाँको कक्षाले हामीलाई झन् उत्साहित बनाएको छ,’ उनी भन्छन्।
परिवर्तनले कतिपय नाटक काठमाडौंबाट निर्देशक लगेर गरे। खगेन्द्र लामिछानेलाई लगेर ‘अटल बहादुरको आतंक’ गरे। चे शंकरलाई लगे, सोमनाथ खनाललाई लगे। ‘निर्देशक काठमाडौंबाट ल्याउँथ्यौं, एक्टर यतैका हुन्थे। यसले सिकाइ साटासाट भयो,’ उनी भन्छन्।
रंगकर्मी तथा कलाकार प्रकाश घिमिरे पनि साथमै छन् पोखरा थिएटरको। उनले त्यहाँको प्रोडक्सनको ४ वटा नाटक गरिसकेका छन्।
पोखरा थिएटरबाट परिवर्तन वर्षमा एक पटक विद्यालय स्तरको महोत्सव गर्छन्। विभिन्न सांस्कृतिक कार्यक्रम गर्छन्। साहित्य, संगीतका विभिन्न गतिविधि आयोजना गर्छन्।
अहिले पोखरामा उनकै निर्देशनमा नाटक ‘एक चिहान’ मञ्चन भइरहेको छ।
परिवर्तनले नाटकमा जोडिएर आफ्नो जीवनमा मात्र होइन, पोखरामा सुस्ताएको नाट्य गतिविधिमा पनि बदलाब ल्याए। त्यसको जस उनले सधैं पाइरन्छन्। त्यसकारण उनको प्रण छ, ‘म नाटकबाहेक अरु गर्दिनँ।’
फिल्म खेल्ने अफर पनि आइरहन्छन्। थुप्रै साथीहरू ठूलो पर्दामा चम्की पनि सके। तर उनी नाट्यकर्ममै रमाउन चाहन्छन्। ‘मलाई थिएटरले जीवन दियो। त्यसकारण मैले पनि थिएटरलाई जीवन दिनुछ,' परिवर्तन मुस्कुाराउँदै भन्छन्।
मुख्य तस्बिर : रिजन परियार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।