काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको विकास रहेको बताएका छन्।
भैरहवामा शुक्रबारदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै मन्त्री खाणले यो सरकारले उद्योगी व्यवसायीको विषयलाई गम्भीरताका साथ लिएको बताउँदै नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रलाई अझै चलायमान बनाएर यो क्षेत्रको विकास गर्नु भएको बताएका हुन्।
गृहमन्त्री खाणले सिद्धार्थमण्डपको व्यवस्थापन नगरपालिकाले गरे बजेट व्यवस्थापन सरकारले गर्ने आश्वासन दिएका छन्। सिद्धार्थनगरको सुखदुःखमा साथ रहने प्रतिवद्धतासँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक विकासको केन्द्र बन्ने खाणको भनाइ छ। भविष्यमा विमानस्थलले आम नागरिकको जीवनमा परिवर्तन ल्याउने उनको अपेक्षा थियो।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले अफ्ठ्यारो परिस्थितिमा पनि आशा नमरेको बताए।
करिब दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको १० दिने मेलामा करिब १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।