काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले राजनीतिक अस्थिरताले आर्थिक अराजकता बढाउने बताएका छन्।
राजनीतिक र आर्थिक संकट एकै पटक जोडिएर जाँदा अहिलेको अवस्थामा देशलाई थप संकटतर्फ लैजान सक्ने पाण्डेले टिप्पणी गरे।
बिहीबार भरतपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले देशमा आर्थिक संकटको अवस्था रहेको बताए। अहिले देशमा वित्तीय संकटको स्थिति रहेको र सरकारकले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको उनी बताउँछन्।
‘अहिले वित्तीय क्षेत्रमा लगानीयोग्य रकमको अभाव छ। वैदेशिक लगानीको एकदमै अप्ठ्यारो अवस्था रहेको छ। देशको मुद्रा सञ्चिति दबाबमा छ’, उनले भने, ‘यता नेपाल राष्ट्र बैंकले एक वर्षदेखि नै नियन्त्रणत्मक नीति लिइराखेको छ। सरकारले आयात नियन्त्रण गरेर अनगमन पनि केहि गरिहेको स्थितिमा आयात रोक्ने बित्तिकै हाम्रो राजस्वमा कमि आएको देखिन्छ।’
सरकारले आयातमा प्रतिबन्ध लगाउँदा ८० अर्ब रुपैयाँ बराबर राजस्व संकलन घटेको उनले बताए। सरकारले राजस्व लक्ष्य अनुसार उठाउन सकेन भने कर्मचारीलाई तलब खुवाउन समस्या आउने अवस्था आउने उनको चेतावनी छ।
‘सरकारले राजस्व घट्यो भनेर आयात प्रतिबन्ध खोल्ने निर्णय गरेको छ। यसले अब राष्ट्र बैंकले लिएका नीतिहरु पनि उल्ट्याउनु पर्ने अवस्था आएको छ। यसो गर्दा फेरि पनि विदेशी मुद्रा सञ्चितिमा दबाब देखिने सम्भावना बढेर जान्छ।’
उनले राजस्व उठ्ने हरेक क्षेत्र आयातसँग जोडिएको बताए। ‘अहिले देशमा सबैभन्दा धेरै राजस्व आउने भन्सारबाट हो। यसपछि आम्दानी राजस्व हो। यो पनि आयातसँग जोडिएको छ’, पाण्डेले भने, ‘व्यापारीले व्यापारबाट आएको आम्दानीले आम्दानी कर तिरेको हुन्छ। यसैगरी, तेस्रो राजस्व उठ्ने क्षेत्रको रुपमा लागत राजस्व रहेको छ र राजस्व उठ्ने चौंथो माध्यम भनेको अन्तशुल्क हो। यो सबै कुरा आयातमा जोडिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।