काठमाडौं– जर्मनीमा सरकार उल्ट्याउने योजना बनाएको आशंकामा २५ जनालाई पक्राउ गरिएको छ। रिपोर्ट अनुसार अति दक्षिणपन्थी र पूर्व सैन्यहरुको समूहले संसद् भवन रिकस्टागमा आक्रमण गर्ने र सत्ता कब्जा गर्ने योजना बनाएको आरोपमा छापामा मारेर उनीहरुलाई पक्राउ गरिएको हो।
हेनरिक एक्स आई–आई–आई प्रिन्स नामले परिचित एक जर्मन व्यक्तिले उक्त योजना बनाएको बताइएको छ। जर्मन अधिकारीका अनुसार ११ राज्यमा पक्राउ परेकामाध्ये दुई जना कथित मुख्य नेताहरुसमेत रहेको बीबीसीले जनाएको छ।
उनीहरुले चरमपन्थी राइचसबर्गर (रिचका नागरिक) आन्दोलनका सदस्यहरू पनि समावेश गरेको बताइएको छ। जुन लामो समयदेखि हिंस्रक आक्रमण र जातिवादी षडयन्त्रका कारण जर्मन प्रहरीको निगरानीमा रहेका थिए।
उनीहरुले आधुनिक जर्मन राज्यलाई मान्यता दिन अस्वीकार गर्दै आएका छन्। ५० जना पुरुष र महिलाहरु उक्त समूहको सदस्य रहेको अनुमान गरिएको छ। जसले जर्मनको गणतन्त्रलाई उल्ट्याउने र १८७१ को मोडलअनुसार नयाँ राज्यका साथ प्रतिस्थापन गर्ने योजना बनाएको बताइएको छ।
संघीय अभियोजक कार्यालयका प्रवक्ताले पक्राउ परेको समूहको आधिकारिक कुनै नाम नभएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।