बैतडी– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयलाई बुझाएका छन्।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका देउवाले २६ लाख रूपैयाँको खर्च विवरण बुझाएका छन्।
देउवाले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण मंगलबार जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा पेस गरेको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।
देउवाले प्रचार सामग्री छपाइ, यातायात, कार्यकर्ता खाजा खर्च, मञ्च व्यवस्थापन खर्च, कार्यालय खर्चलगायतका शीर्षकमा खर्च विवरण पेस गरेको अवस्थीले बताए।
अन्य उम्मेदवारहरूले पनि खर्च विवरण बुझाइरहेका छन्। एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको डडेल्धुरामा प्रतिनिधि सभातर्फ ८ जना र २ वटा प्रदेश सभातर्फ १२ जना गरी २० जना उम्मेदवार रहेका थिए। अहिलेसम्म १४ जनाले खर्च विवरण बुझाइसकेको निर्वाचन अधिकारी अवस्थीले बताए।
नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उमेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, विक्रमबहादुर शाहीले २ लाख २ हजार १९० र राप्रपा उमेदवार गोविन्द खडायतले ४ लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन्।
डडेल्धुरामा प्रतिनिधि सभातर्फ ३१ लाख, प्रदेश (१) को लागि २१ लाख र प्रदेश सभा (२) को लागि १९ लाख खर्चको सीमा तोकिएको थियो।
स्वतन्त्र उम्मेदवार सागर ढकाललाई हराउँदै देउवा डडेलधुराबा६ सातौंपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।