काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र सामानुपातिक दुवैतर्फको मतगणना सम्पन्न भएको छ।
प्रत्यक्षतर्फ नेपाली कांग्रेसले पहिलो दल हुँदै ५७ सिट प्राप्त गरेको छ। नेकपा एमालेले ४४ सिट प्राप्त गरेको छ।
निर्वाचन आयोगको समानुपातिक शाखाका अनुसार आयोगले बुधबार दलहरुलाई प्राप्त सिट संख्याको पत्र पठाउने छ।
करिब १ करोड ९ लाख मत खसेकोमा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ। यसमध्ये ३ प्रतिशत मत कटाउने सात वटा दल भएका छन्।
समानुपातिकमा एमाले पहिलो दल भएको छ भने कांग्रेस दोस्रो दल भएको छ। त्यस्तै, माओवादी केन्द्र तेस्रो दल भएको छ। माओवादीपछि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी चौंथो भएको छ।
स्वतन्त्र पार्टीपछि अघिल्लो पटक थ्रेसहोल्ड कटाउन नसकेको राप्रपा पुगेको छ। राप्रपापछि जसपा र राष्ट्रिय जनमत पार्टी रहेको छ। यसपटक लोसपा र नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल बन्न असफल रहे।
माधव नेपाल नेतृत्वको दल एकीकृत समाजवादीले २.८२ प्रतिशत मात्र मत पाएपछि राष्ट्रिय दल बन्न सकेन। प्रत्यक्षतर्फ भने उसले १० स्थानमा जित हात पारेको छ।
आयोगका अनुसार समानुपातिकतर्फ एमालेले ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनमत पार्टीले ५ र जसपाले ५ सिट पाउने छन्।
हेर्नुहोस् प्राप्त मतको सूची :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।