काठमाडौं– सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ। मुटुरोग, ब्लडप्रेसर र सुगरको बिरामी अनिलको गंगालाल अस्पतालमा मंगलबार ९२ वर्षको उमेरमा निधन भएको हो।
अनिलको परिवारले उनको बुधबार अन्तिम संस्कार गरिने जनाएको छ।
को हुन् अनिल?
पूर्वन्यायाधीश अनिलले विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गरेका थिए। उनी विशेष अदालत र क्षेत्रीय अदालतको न्यायाधीश समेत थिए। उनले सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशबाट अवकाश पाएका थिए।
न्यायाधीशमा बहाल हुँदा र अवकाशपछि पनि विभिन्न घटना, दुर्घटनाको आयोगमा एकल नेतृत्वको जिम्मेवारी पाएका अनिल इमानदार, लगनशील र सक्षम न्यायाधीशका रूपमा चिनिन्थे।
एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको जीप दुर्घटनाका विषयमा सरकारले उनकै नेतृत्वमा आयोग गठन गरेको थियो। उक्त आयोगले विभिन्न सिफारिस गरे पनि ती सिफारिसहरु अझै लागू भएका छैनन्।
२०४७ सालको संविधान जारी हुँदा लामो कार्यकाल प्रधानन्यायाधीश हुनेछन् भनेर आकलन गरिएका प्रचण्डराज अनिल संविधानको शब्दजालमा परेर न्यायाधीश पदबाट नै हात धुन बाध्य भएका थिए।
उनी सर्वोच्च अदालतमा अतिरिक्त न्यायाधीशको हैसियतमा बहाल थिए तर संविधानमा ‘अतिरिक्त न्यायाधीश’ भन्ने व्यवस्था नराखिएपछि तत्काल अतिरिक्त न्यायाधीशमा कार्यरत प्रचण्डराज अनिल, हिरण्यश्वरमान प्रधान, महेशरामभक्त माथेमा, हरगोविन्दसिंह प्रधान र रुद्रबहादुर सिंहले स्वतः अवकाश पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।