काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषी भनेर चिनिने पण्डित सुरेशचन्द्र रिजालले कलाकार दीपकराज गिरीको फेसबुक स्टाटसप्रति आपत्ति जनाएका छन्।
गिरीले फेसबुकमा देउवाले प्रधानमन्त्री बन्ने इच्छा देखाएको भन्दै व्यंय गरेका थिए, ‘देउवाले फेरि इच्छा देखाए रे। जनताको छोडौं ज्योतिषको सपना चाहिं पूरा हुने भो!’
उनको स्टाटस सच्याउन आग्रह गर्दै रिजालले प्रधानमन्त्री बन्ने निर्णय ज्योतिषले नभई जनताले गर्ने बताएका छन्।
‘कलाकार दिपकराज गिरीले सामाजिक सञ्जालमा लेख्नुभएको स्टाटसप्रति विमति जनाउँदै सच्याउन आग्रह गर्दछु। ज्योतिषीको सपना पूरा गर्न प्रधानमन्त्री बन्ने होइन, प्रधानमन्त्री त जनादेश, निर्वाचनको परिणाम र क्षमताले बनाउने हो’, उनले लेखेका छन्, ‘ज्योतिषीले त केवल ज्योतिषशास्त्र अनुसार बन्ने योगहरु मात्रै हेर्ने हो। अत: को प्रधानमन्त्री बन्ने या नबन्ने त्यसको निर्णय जनताले नै गर्ने हुँदा यसमा ज्योतिष शास्त्रको कुनै दोष छैन।’
देउवाले प्रधानमन्त्री बन्नुअघि र त्यसपछि पनि विभिन्न निर्णय गर्नेबेला बुझ्न पण्डित रिजाललाई योग हेराउने गरेका थिए। देउवाले एकपटक ‘आफ्नो सात पटक प्रधानमन्त्री बन्ने योग रहेको कुरा ज्योतिषीले बताएको’ भनेपछि पण्डित रिजाल चर्चामा आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।