काठमाडौं– नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको आर्थिक सहयोगमा आर्थिक बिटमा कलम चलाउने दुई पत्रकारलाई पुरस्कृत गर्ने भएको छ।
नाफिजले फाउन्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको हो।
नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने हेतुले पुरस्कार प्रदान गरिने भएको हो। पुरस्कारले स्वस्थ तथा खोजमूलक आर्थिक पत्रकारितालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
यो वर्षको ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ मंसिर २८ गते नाफिजको छैटौँ महासभाको विशेष समारोहमा ५०–५० हजार रुपैयाँका दरले दुई जनालाई प्रदान गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।