काठमाडौं– साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि सेयर बजार घटेको छ। यस दिन सेयर बजार मापक नेप्से परिसूचकसंगै सेयर कारोबार रकममा पनि गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ।
मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ बिन्दुमा ओर्लिएको छ। साताको पहिलो कारोबार दिन सामान्य बढेको नेप्से सूचक साताको दोस्रो कारोबार दिन सोमबार घटेको थियो। सोमबार सेयर बजार सूचक २४.४६ अंकले घटेर १९३८.७६ विन्दुमा आइपुगेको थियो।
मंगलबार सेयर कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार १ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको सेयर बजारमा मंगलबार ९६ करोड ५२ लाख रुपैयाँ बराबर मात्र सेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ।
मंगलबार कारोबारमा आएका १३ समूहमध्ये १० कम्पनी समूहको सेयरमूल्य घटेको छ। बाँकी ३ समूहको मात्र सेयरमूल्य बढेको छ।
मंगलबार लगानी समूहको सेयरमूल्य सबैभन्दा बढी ०.९१ प्रतिशतले घटेको छ। यसैगरी यस दिन सबैभन्दा धेरै कमाउनेमा ‘अन्य’ समूह रहेको छ। यस समूह तर्फको सेयरमूल्य ०.७५ प्रतिशतले बढेको छ।
मंगलबार सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ। यस कम्पनीको सेयर मूल्य ८.१७ प्रतिशतले बढेको छ। यसैगरी, सबैभन्दा धेरै एनएमबी बैंकका लगानीकर्ताले गुमाएका छन्। यस बैंकको सेयर मूल्य आज ६.०७ प्रतिशतले ओरालो लागेको छ।
मंगलबार २३८ कम्पनीको २५ लाख ८१ हजार ४२५ कित्ता सेयर १९ हजार १२१ पटक किनबेच भएको छ। मंगलबार कारोबारमा आएका २३८ कम्पनीमध्ये ७८ कम्पनीको सेयर मूल्य बढेको छ। १०९ कम्पनीको सेयर मूल्य घट्यो भने १२ कम्पनीको सेयर मूल्य यथावत रहेको छ।
यस दिन ८ करोड १२ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रह्यो। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिस्टिलरी र रिडी हाइड्रोपावर परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।