काठमाडौं– बागमती नदी किनारका सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन्। आइतबारदेखि थालेको विरोध प्रर्दशनलाई उनीहरूले सोमबार पनि निरन्तरता दिएका हुन्।
सुकुम्बासीहरूले माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म र्यालीसहित विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमिहीनहरूको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेका छन्।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा र नेपाल महिला एकता समाजको आयोजनामा आफ्ना माग पूरा गर्नुपर्ने शर्तसहित आन्दोलनमा उत्रिएका सुकुम्बासीहरूले वैकल्पिक व्यवस्थाबिना गरिएको उठिवास सह्य नहुने चेतावनी समेत दिएका छन्।
र्यालीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले वर्षौंदेखि बसोवास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्थाबिना गरिएको उठिवास सह्य नहुने बताए।
उनले वैकल्पिक बसोवासबिनाको उठिवास नागरिक अधिकारमाथिको हनन् भएको टिप्पणी गरे। उनले सुकसम्बासी विध्वंशकारी नभएको भन्दै देश विकास र निर्माणका शक्ति सुकुम्बासी भएको बताए।
गत मंसिर १२ गते अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको पहलमा काठमाडौं महानगरपालिका डोजर लिएर सुकुम्बासी बस्ती भत्काउन पुगेदेखि बस्तीमा असहज परिस्थिति सिर्जना भएको उनीहरूको आरोप छ।
उनीहरूले भत्काउने र बिगार्नेमा नभइ दिगो व्यवस्थापनमा लाग्नुपर्ने सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।