काठमाडौं– निर्वाचनको अन्तिम मत परिणाम आउँदै गर्दा विभिन्न पदमा को व्यक्ति आउला भन्ने चासो पनि व्यक्त हुन थालेका छन्। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतका झन्डै ३ दर्जन पदमा अब नयाँ व्यक्तिहरु आउनेछन्। त्यसैले ती पदमा आउने व्यक्ति र व्यक्ति आउने प्रावधानबारे चासो हुनु स्वभाविक हो।
मुलुकको सबैभन्दा सर्वोच्च पदमा पनि अब नयाँ व्यक्ति चयन हुँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारी २ कार्यकाल निर्वाचित भइसकेकाले अबको केही महिनामै नयाँ व्यक्तिले उनलाई प्रतिस्थापन गर्दैछन्।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ मा व्यवस्था भए अनुसार, निर्वाचन आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा १ महिनाअघि निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ।
राष्ट्रपति भण्डारी २०७४ फागुन २९ गते दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। त्यसैले माघ २९ भन्दा अगाडि नै राष्ट्रपतिको मिति तोकिनेछ। उपराष्ट्रपतिमा नन्दबहादुर पुन २०७४ चैत ४ मा दोस्रोपटक निर्वाचित भएका थिए। त्यसैले उनको पदावधि सकिनुभन्दा एक महिनाअघि उपराष्ट्रपतिको पनि निर्वाचनको मिति तोकिनेछ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि भने प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुनेछन्। तर संघीय सांसदहरुले दिएको १ भोट बराबर ७९ र प्रदेश सभा सदस्यले दिएको १ भोटको ४८ मतभार हुने बताउँछन्, निर्वाचन आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी सूर्यप्रसाद अर्याल।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ मा मतभारबारे लेखिएको छ। जसमा, संघीय सांसदको मतभारको हकमा पछिल्लो राष्ट्रिय जनगणना अनुसारको कुल जनसंख्यालाई संघीय सांसदको संख्याले भाग गरेर पुनः १००० ले भाग गर्ने भनिएको छ। त्यस्तै, प्रदेश सांसदको मतभारको हकमा, कुल जनसंख्यालाई प्रदेश सभाका कुल सांसदको संख्याले भाग गरेर पुनः १००० ले भाग गर्ने भनिएको छ। यसरी गर्दा संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ हुन आउँछ। आयोगले २०६८ सालकै जनगणनालाई आधार मानेको अर्यालको भनाइ छ। २०७८ को जनगणनाको अन्तिम विवरण आइनसकेकोले २०६८ कै जनसंख्यालाई आधार मानिएको उनले बताए।
अर्यालले राष्ट्रपति हुनका लागि ४५ वर्ष उमेर पुगेको र कानुनले योग्य ठहरिएको व्यक्ति हुनुपर्ने बताए। उनले प्रदेश सभाका सदस्यको एक जनाले दिएको मत ४८ र प्रतिनिधि सभाका एक जना सदस्यले दिएको ७९ जोड्दै ५० प्रतिशतभन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा विजयी बन्ने बताए।
सहायक प्रवक्ता अर्यालका अनुसार पहिलो चरणमा राष्ट्रपतिका लागि इच्छुक सबैले उम्मेदवारी दिन पाए पनि पहिलो चरणबाट निर्वाचित हुन नसकेको खण्डमा भने दोस्रो चरणमा पहिलो चरणमा पहिलो र दोस्रो बनेको उम्मेदवारहरुबीच मात्रै गराइन्छ। पहिलो चरणमा प्रतिस्पर्धा गर्ने पहिलो र दोस्रो बाहेकका अन्य उम्मेदवार भने प्रतिस्पर्धाबाट बाहिरिने बताए। उनले दोस्रो निर्वाचनको चरणमा पनि कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेको खण्डमा पुनः अर्को पटक मतदान गर्दा सबैभन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा निर्वाचित हुने प्रावधान रहेको बताए।
राष्ट्रपति र उपराष्ट्रपति चुन्दा फरक लिंग र फरक समुदायको हुनुपर्ने भएकाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एकै चरणमा गर्न नसकिने उनको भनाइ छ। ‘राष्ट्रपति र उपराष्ट्रपति चुन्दा फरक लिंगको र फरक समुदायको हुनुपर्छ। पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्छ। महिला राष्ट्रपति भए पुरुष उपराष्ट्रपति हुनुपर्छ। समुदाय पनि फरक हुनुपर्छ। त्यसैले दुई वटा निर्वाचन एकै पटक गर्न सकिँदैन। महिला आउँछ वा पुरुष आउँछ थाहा नहुने भएपछि एकै चरणमा निर्वाचन गर्न सकिँदैन’, उनले भने।
सहायक प्रवक्ता अर्यालले राष्ट्रपति र उपराष्ट्रपतिका लागि संघीय संसदको सांसद हुने योग्यता पुगेको व्यक्ति हुनुपर्ने बताए। उनले राष्ट्रपति र उपराष्ट्रपतिका लागि सांसद हुनु नपर्ने तर ४५ वर्ष उमेर पुगेको, कानुनले योग्य व्यक्ति, फरक लिंग र फरक समुदायको हुनुपर्ने बताए। २ पटक राष्ट्रपति भइसकेको व्यक्ति भने तेस्रो पटक राष्ट्रपति बन्न नपाउने उनले बताए।
‘पहिलो कुरा संघीय संसदको सांसद हुने योग्यता पुगेको व्यक्ति हुनुपर्छ। सांसद हुनुपर्छ भनेको छैन। ४५ वर्ष उमेर पुगेको हुनुपर्छ। कानुनले योग्य व्यक्ति हुनुपर्छ। फरक लिंग र फरक समुदायको हुनुपर्छ। दुई पटक राष्ट्रपति भइसकेको व्यक्ति तेस्रो पटक राष्ट्रपति हुन पाउँदैन’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।