काठमाडौं– निर्वाचन आयोगले अबको चार दिनभित्र मतगणना सम्पन्न हुने बताएको छ। अहिले प्रत्यक्षतर्फ दोलखा, स्याङजा र बाजुराको मतगणना चलिरहेको छ।
आयोगको समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले अब चार दिनभित्र सबै मतगणना सम्पन्न हुने अनुमान आयोगले गरेको बताए। आयोगले समानुपातिकतर्फ दलहरुसँग नाम लिएर अन्तिम परिणाम तयार गर्दै राष्ट्रपतिलाई बुझाउनेछ।
दलहरुले पाएको मत संख्या अनुसार उनीहरुले बन्दसूचीमा पठाएका समानुपातिक सांसदहरु निर्वाचित हुनेछन्। त्यसका लागि आयोगले दलहरुले प्राप्त गरेको संख्या पठाउने र दलहरुले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउने उनले जानकारी दिए।
त्यसो गर्दा एक तिहाई महिलाहरुको संख्या भने राजनीतिक दलहरुले पठाउनैपर्ने कानुनी व्यवस्था छ। शुक्रबारसम्मको गणनामा सात दलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन्।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टीले थ्रेसहोल्ड कटाएका छ्न्। एकीकृत समाजवादी भने अझै पनि थ्रेसहोल्ड कटाउन संर्घषरत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।