काठमाडौं- बाजुराको प्रतिनिधि र प्रदेश सभा सदस्यको मतगणना फेरि सुरु भएको छ। विवादपछि बिहानदेखि स्थगित मतगणनालाई पुन: सुरु गरिएको हो।
प्रतिनिधि सभाको मतगणना गर्ने क्रममा एउटा बुथको मत पेटिकामा रेकर्डमा राखिएको भन्दा बढी मत पाइएपछि एमालेले विरोध जनाएको थियो।
कांग्रेस महामन्त्री बद्री पाण्डेको गृहपालिका हिमाली गाउँपालिका–६ धिममा मुचुल्काभन्दा ३० मत बढी पाइएपछि विवाद भएको हो। रेकर्ड भन्दा बढी रहेका मत गणना नगर्ने सहमतिपछि विवाद मिलेको छ।
यसैगरी, प्रदेश सभा २ को पनि एक बुथको मतमा विवाद भएको थियो। बुढीगंगा–३ को मतदान केन्द्रमा मुचुल्कामा ३ सय ५० रहेकोमा कम्प्युटरमा इन्ट्री २ सय ५० भएको थियो। प्राविधिक त्रुटीले त्यस्तो भएको निष्कार्षपछि फेरि मतगणना थालिएको हो।
प्रतिनिधि सभामा कांग्रेसका बद्री पाण्डे ५ हजार ३ सय ९९ मतसहित अघि छन् भने एमालेका कर्णबहादुर थापा ४ हजार १ सय ३० मतसहित पछ्याइरहेका छन्।
प्रदेश सभा १ मा एकीकृत समाजवादीका नरेश शाही र प्रदेश सभा २ मा एमालेका लालबहादुर थापाले अग्रता लिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।