क्वालालम्पुर– मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहले विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्ने चाहना व्यक्त गरेका छन्। सगरमाथा हेर्नका लागि नेपाल जाने अब्दुल्लाहको चाहना छ।
मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलको ओहोदाको प्रमाणपत्र बुझ्दै राजा सुल्तान अब्दुल्लाहले विश्वको सर्वोच्च शिखर सगरमाथा अवलोकनका लागि नेपालभ्रमण गर्ने आफ्नो इच्छा रहेको बताए।
बिहिबार क्वालालम्पुरस्थित राजदरबारमा आयोजित विशेष समारोहमा राजा सुल्तान अब्दुल्लाह समक्ष राजदूत पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।
कार्यक्रममा राजा सुल्तान अब्दुल्लाहले मलेसियाका लागि राजदूत नियुक्त भएकोमा पौडेललाई बधाई दिएका थिए। ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजा सुल्तान अब्दुल्लाहसँग पौडेलले नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी गरेका थिए।
सो अवसरमा द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको थियो। राजदूत पौडेलले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू लागि पर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश व्यक्त गरेका थिए। राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति भण्डारीको तर्फबाट नेपाल भ्रमणको निमन्त्रणा गरेका छन्।
सो अवसरमा मलेलिया र नेपालमा हालै भएको आम निर्वाचनबारे समेत कुराकानी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।