काठमाडौं– दोलखामा प्रतिनिधि सभा सदस्यका लागि बिहीबार राति ९ बजेदेखि मतगणना सुरू हुने भएको छ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधि सभा सदस्यको मतगणना सुरू हुने र भोलिबाट प्रदेश सभा सदस्यको पनि मतगणना गर्न सुरू गर्ने जानकारी दिए।
दोलखामा प्रतिनिधि सभा सदस्यका लागि वाम–लोकतान्त्रिकबाट नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्की, नेकपा (एमाले) बाट बालकृष्ण शिवाकोटीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनःमतदान भएको थियो। शान्ति पूर्णरूपमा मतदान भएको र ५० प्रतिशत मत खसेको मतदान अधिकृत श्रेष्ठले जानकारी दिए। उक्त जिल्लाको बाँकी स्थानमा यही मंसिर ४ गते मतदान सम्पन्न भएको थियो।
प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए। कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।