एजेन्सी- स्टारडमको मूल्य तारेभीरको ढलान जस्तो हुन्छ।
यसको अर्थ अहिले भारतीय टिभी कमेडियन कपिल शर्मालाई जस्तो कसलाई थाहा होला! करिअरको चरमसीमामा पुगेदेखि नै कपिल एकपछि अर्को विवादसँग साक्षात्कार गरिरहेका छन्। अहिले उनी यस्तो आँधीको सम्मुख छन्, जसले 'द कपिल शर्मा' शोको भविष्यलाई निर्धारण गर्छ।
थुप्रैले कपिलको शो बन्द हुन लागेको बताइरहेका छन्। तर कपिल आफ्नो दाबीमा अडिग छन्। 'मेरो शो बन्द हुन लागेको छैन। म केही एपिसोडबाट ब्रेक लिँदै छु, कुरा त्यति हो,' उनले भनेका छन्, 'म अब मेरो स्वास्थ्यसँग थप खेलबाड गर्न चाहन्न। एउटा एपिसोडलाई स्थगित गरेर अर्को एपिसोडमा नयाँ कलाकारसँग आउनु मेरो विचारमा ठिक होइन।'
कपिलले आफू कमजोरी र एन्जाइटीसँग लडिरहेको बताए। टिभी च्यानललाई धन्यवाद दिँदै उनले भने, ' म लगातार फिल्म र शोको सुटिङ गरिरहेको छु। यस्तो अनियमित कार्यतालिकाले मलाई आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिनबाट रोकिरहेको छ। म कमजोर भइरहेको छु, भिटामिन बी १२ को कमीले मलाई थकाइरहेको छ। म छिट्टै थाक्न थालेको छु। टिभीमा काम गर्नु काफी तनावपूर्ण छ।' चिकित्सकहरूले पनि अति नै काम गरिरहेको भन्दै उनलाई आराम गर्न सुझाएका छन्।
अन्तिम अवस्थामा आएर स्वास्थ्यलाई कारण देखाउँदै सुटिङ स्थगित गर्ने बानीले बलिउड चिढिएको कुराको उनी खण्डन गर्छन्। 'सुटिङ क्यान्सिल भएपछि अर्को दिन शाहरूख खानले मसँग कारमा एक घन्टा कुरा गर्दै स्वास्थ्यमा ध्यान दिने सुझाव दिए। अजय देवगन मसँग दु:खी हुनै सक्दैनन्। उनी व्यस्त भएकाले कुरा हुन पाएको छैन,' कपिलले प्रस्ट पारे, 'हामीबीच त्यस्तो नराम्रो केही छैन। अनिल कपुरले पनि फेरि अर्को दिन मसँग सुटिङ गरेका छन्।'
बिरामी भए पनि अर्जुन कपुरसँग सुटिङ गर्ने निर्णय गरेको तर उनले आफ्नो हालत देखेर सुटिङ स्थगित गरेको कपिलको भनाइ छ। उनीहरु जस्ता स्टारका कारण नै आफ्नो शोको शोभा बढेको जनाउँदै कपिलले भने, 'म उहाँहरूलाई कसरी पर्खाउन सक्छु। यदि मैले यो साता ब्रेक नलिएको भए मानिसहरूले मेरो बारेमा चलेका सबै हल्लालाई सहजै पत्याउँथे।'
कपिलले आफू र पूर्वसहकर्मी कलाकार सुनिल ग्रोभरबीच सबै कुरा राम्रो रहेको पनि बताए। एक कार्यक्रमबाट प्लेनमा फर्किने क्रममा ग्रोभरमाथि कपिलले हात हालेपछि शोबाट बाहिरिएका थिए। त्यसबारेमा कपिलले भने, 'म त्यो घटनालाई फेरि सम्झन चाहन्न, सुनिल मेरा भाइजस्तै हुन् र म ऊसँग अझै सम्पर्कमै छु। मेरो हालै ऊसँग कुरा भएको थियो, ऊ यतिबेला ज्वरोका कारण बिरामी छ।'
प्रशंसकहरूले दुवैलाई सँगै देख्न पाउँछन् या पाउँदैनन् भन्ने प्रश्नमा कपिलले शोमा सुनिल जतिखेर पनि फर्किन सक्ने बताउँदै यतिबेला सुनिल आफ्नो शो र नयाँ काम गर्ने तयारीमा व्यस्त रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।