जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक राई नेकपा (एमाले)को समर्थनमा प्रतिनिधि सभाका लागि सुनसरी– ४ बाट उम्मेदवार बनेका छन्। ०७४ को निर्वाचनमा उपविजेतामा चित्त बुझाएका राईमा यसपल्ट जित्न निकाल्ने विश्वास देखिन्छ। उक्त क्षेत्रमा राम्रो प्रभाव भएको र आफ्नै राजनीतिक जीवनको ऊर्जावान समय बिताएको एमालेको समर्थनले उत्साहित देखिन्छन् उनी। प्रतिस्पर्धीको रुपमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता मिक्सामहाङ सुब्बा उम्मेदवार छन्। अहिले राई धरानस्थित आफ्नै निवासबाट चुनावी अभियान चलाइरहेका छन्। राईको चुनावी क्षेत्र सुनसरी– १ मै पुगेर नेपाल लाइभका लागि डिबी खड्काले गरेको संवादः
यसपल्ट आफ्नो चुनावी माहोल कस्तो पाउनुभएको छ ?
०७४ मा पनि म प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिस्पर्धी थिएँ। तर, नतिजा पक्षमा आएन। तर म यहाँका स्थानीबासीका रुपमा लगातार यहीँ खटिएको छु। ०७४ सालको भन्दा गुणात्मक रुपमा यहाँको माहोल मेरो पक्षमा परिर्वतन भएको देखेको छु। अझ भनौं एमालेसहितको तालमेलको पक्षमा देखेको छु।
कुनै समय तपाईं एमालेमा प्रभावशाली नेता हुनुहुन्थ्यो। एमालेलाई मजबुत बनाउन सक्रिय भूमिका खेल्नुभयो। आज धेरै वर्षपछि आफूले बनाएको संगठन र आफैंले नेता बनाएका कार्यकर्तासँग हिँडिरहँदा कस्तो महसुस गरिरहनुभएको छ?
म रोमाञ्चित छु। आफैँले चिनेको चौतारा वा आफैँले रोपेको वरपिपलको छहारीमा शितल ताप्न आएकोझैं महसुस भइरहेको छ। एमालेमा रहँदा मैले बनाएका संगठनका साथीहरू अहिले सँगै हिँड्दा आफ्नै जस्तो लाग्नु पनि स्वभाविक नै होला।
अघिल्लोपटक यस क्षेत्रबाट सफलता प्राप्त भएन। यसपटक एमालेको समर्थन बाहेकेको जितका अन्य आधार के हुन्?
०७४ सालमा पनि म दोस्रो स्थानमा रहेको हो। त्यसपछि मैले यस क्षेत्रका बासिन्दाका सुखदुःखमा साथ दिएको छु। कोरोनाकालदेखि गतवर्ष कात्तिकमा आएको बाढीमा समेत मैले काम गरेको छु। तल्लो भेगमा रहेका विपन्न परिवारहरूको सर्वे गर्न लगाएर न्यानो कपडा वितरण गरेको छु। विकास निर्माणको काममा पनि म सक्रिय भएको छु। बराह क्षेत्रदेखि किरात धर्म संघमा सामूहिक घर बनाउनेसम्म सक्रिय छु। विद्यालयमा आधुनिक शौचायल र शर्दू क्षेत्रमा जाने सडक बनाउनेसम्मका कार्यमा मैले सक्रिय भएर हातमालो गरेको छु।
सडक स्तरउन्नति गर्ने कार्यदेखि धेरै सरकारी र गैरसरकारी विकास निर्माण मैले अघि बढाएको छु। निर्वाचन विकास क्षेत्र कोष पनि यतै ल्याएर काम गरेको छु। सर्दू खोलाको खैरेनीमा बस्ती कटान रोक्न पनि मैले काम गरेको छु। त्यस्तै, अर्को भनेको एमालेको बलियो संठगनको सहयोग पनि हो। अरु दलका नेताहरूले पनि प्रेम र सद्भाव देखाउनुभएको छ। जनतासँग जोडिएकाले फेरि पनि सेवा गर्ने मौका दिनुहुन्छ भन्ने मलाई लागेको छ।
तपाईंले यस्तो दाबी गरिरहँदा धरानको अहिले बनेको छवि चाहिँ बागी अर्थात् विद्रोही देखिन्छ। धरानका मतदातामा देखिएको यो मनोविज्ञानले तपाईंहरूलाई फाइदा हुन्छ कि हानी?
लोकतन्त्रमा सबैले उम्मेदवार हुन पाउने अधिकार राख्छन्। पाँच वर्षमा सबैले आफूलाई देखाउन चाहन्छन्। सदुपयोग गर्न चाहन्छन्। त्यसैले, बागी हुने वा स्वतन्त्र उठ्नेहरूलाई मेरो भन्नु केही छैन। तर, पार्टी अनुशासनले हेर्दा यो दोषपूर्ण अवस्था हो। यसरी जाने हो भने पार्टी पद्धति चल्दैन।
हामीले निर्दलीय व्यवस्थाविरुद्ध आन्दोलन गरेर दलीय व्यवस्था ल्याएका हौँ। म पनि यही दलीय व्यवस्थाका लागि १२ वर्ष जेल बसेको छु। अहिले फेरि स्वतन्त्र उठ्ने अनि निर्दलीयतिर जानु राम्रो होइन। जनताले चेतावनी दिने केही अपवादमा हुनसक्छ। यो सामान्य नियम होइन । यसबाट दलहरूले सिक्नुपर्छ। हामीबाट जनता सन्तुष्ट छैनन् भन्ने हामीले महसुस गर्नुपर्छ। जनताको हितका लागि लाग्नुपर्छ। जनताले औंल्याएका बेथितिलाई हटाउनुपर्छ भनेर सँगै शिक्षा लिनुपर्छ।
यी सबै कुरालाई आत्मसाथ गरेर धरान आउनुभएको हो, कहिलेसम्म आफूलाई निर्वाचनको मैदानमा उतारिरहनुहुन्छ?
आगामी वर्षहरूमा युवा पुस्तालाई अघि बढाउनपर्छ भन्ने सोंच बनाएको छु। मेरा निम्ति सम्भवत यो अन्तिम निर्वाचन हुनेछ। ७० वर्षपछि पनि यस्तो भागदौडमा जान चाहन्न। कोही दौडन सक्छ भने अपवाद होला तर आम रुपमा युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्छ। हामीले लोकतन्त्र ल्याउन संघर्ष गरेको हो। यसलाई अघि बढाउन युवा पुस्तालाई अघि बढाउनुपर्छ। पाँच वर्ष मैले सेवा गर्न पाएँ भने केही स्मरणीय काम गर्ने सोच राखेर कार्यक्रमहरू अघि सारेको छु।
जसपाको प्रभावशाली नेता हुनुहुन्छ। आफ्नो संगठन बलियो भएको ठाउँमा रोज्नुपर्नेमा कमजोर धरानलाई किन रोज्नुभयो?
जसपा नयाँ पार्टी हो। यद्यपि, धरानसँग मेरो भावानात्मक साइनो छ। मैले यहाँ शिक्षा र ज्ञान आर्जन गरेको ठाउँ हो। भूमिगतकालमा पनि मैले धरानमा लामोसमय बिताएको छु। १२ वर्षसम्म म निर्दलीय शासनविरुद्ध गुप्तावास बसेँ, त्यस्तो त्याग गरेको घोषणा गरेको स्थान पनि धरान हो।
मैले धरानमा बैरागी काइँला, टंक कार्कीलगायत सँगै सार्वजनिक भएको घोषणा गरेको हुँ। त्योबेला मैले मेरो सक्कली नाम अशोक राई हो भन्ने सुनेर धेरैले आश्चर्य मानेका थिए। म धरानको बासिन्दा पनि हो। म बूढेसकालमा घाम ताप्ने ठाउँ यसैलाई बनाउने हो। एमाले निर्माणको काम पनि मैले गरेको हुँ। आफूले चिनेको चौतारामा शितल ताप्ने अवसर प्राप्त भएको छ। म यहाँ जित्नमात्र आएको होइन, केही गर्न भनेर आएको हुँ।
तालमेलको अघिल्लो हप्तासम्म एमाले र जसपा वैचारिक रुपमै दुई धार थिए। तर, पछि तालमेल गरेर निर्वाचनमा जाने निर्णय भयो। यस्तोमा नेताहरूले आफू जित्नका लागि जे पनि गर्ने रहेछन् भन्ने सन्देश जाँदैन?
जुनसुकै पार्टी वा नेताले आफूले जित्ने प्रयास गर्छ। यो स्वभाविक पनि हो। सबै पार्टी र उम्मेदवार जितकै लागि निर्वाचनको मैदानमा आएका हुन्। त्यसैले यसलाई स्वभाविक रुपमा लिनुपर्छ। आसन्न चुनावमा कुनै पार्टीको एकल बहुमत आउन नसक्ने देखिएको छ। अपवादमा मात्र आउने अवस्थामा दलहरूले तालमेल गर्नुपर्ने अवस्था अनिवार्य नै हुन्छ।
भारतमा पनि यस्तै देखिएको छ। दिल्लीमा आमआद्मी पार्टीले सरकार बनाएको छ। तर, अन्य शहरमा अरु मिलेर लडेका छन्। यो एउटा चुनावी नियममात्र हो। एमालेसँग सहकार्य यो पहिलो होइन, ०७४ सालको निर्वाचनपछि बनेको एमालेको सरकारलाई हामीले सर्मथन गरेका थियौं। तर, हाम्रा बीचमा मतभद कहाँ रह्यो भने एमाले अध्यक्ष केपी शर्मा ओलीले जब कार्यकाल अगावै प्रतिनिधि सभा विघटन गर्नुभयो। त्यसमा हामी सहमत हुन सकेनौं।
संविधानभन्दा बाहिर गएर उहाँले त्यो काम गर्नुभयो भनेर सडकमा गएका हौं। अदालतले त्यसलाई उल्टाइदियो। अब नयाँ चरणमा हामी पुगेका छौं। अब नयाँ संसद्का लागि हामी निर्वाचनमा छौं। एकपटक गलत कदम चालेको भनेर सधैं वैरभाव राख्नुपर्ने जरुरी छैन। लोकतन्त्रमा यस्तो पनि हुँदैन। नेपालको राजनीतिमा सहकार्य र तालमेल सहज हुने अभ्यास छ। २००७ सालदेखि ०६२–६३ सम्ममा पनि राजनीतिक दलका बीचमा सहकार्य र सहमति भएको छ। ०७४ मा पनि एमाले, कांग्रेस र माओवादीसँगसँग अरु दलको सहकार्य भएको थियो।
संसद्मा आफ्नो बलियो उपस्थितिका लागि यो एउटा प्रक्रिया हो । दुई दल मिलाएर बहुमत पुर्याउन सकिन्छ भनेर नै यो पटक एमालेसँग सहकार्य गरिएको हो। बहुमत प्राप्त भएमा हामी जनताको पक्षका काम गर्न सक्छौं। समृद्ध नेपाल र सुखी नेपाल बनाउने एमालेको नारामा हामी पनि काम गर्छौं।
नागरिकता विधेयक जस्ता अनेक विषय छन्। जसमा जसपा र एमालेका बीचमा अझै एकमत देखिँदैन नि?
यसमा जसपा र एमालेबीच दूरी छैन। ओली सरकारमा रहँदा उहाँले नागरिकता अध्यादेश जारी गर्नुभएको थियो। जसलाई सर्वोच्च अदालतले रोक लगायो। त्यही अध्यादेशमा भएका व्यवस्थालाई अक्षरशः विधेयकमा ल्याइएको थियो। संसद्ले यसलाई पारित गरेपछि राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएको थियो।
राष्ट्रपतिले त्यसलाई फेरि विचार गर्न भन्दै संविधानसम्मत नै फिर्ता पठाउनुभयो। संसद्ले फेरि त्यसलाई प्रमाणीकरणका लागि पठाएको थियो। राष्ट्रपतिले यसलाई प्रमाणीकरण गर्नुपर्ने थियो, गर्नुभएन। राष्ट्रपतिले गर्नुपर्ने कुरा गर्नुभएन भने के हुन्छ भनेर संविधानमा कतै लेखिएको देखिएन। त्यसकारण यो संविधानको व्याख्याको प्रश्न भएको छ। सर्वोच्चको संवैधानिक इजलासले यसमा ब्याख्या गर्न सक्छ। यसलाई लिएर एमालेसँग दूरी बढाउन आवश्यक छैन भन्ने जसपाको निष्कर्षपछि तालमेलको सहमति भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।